सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमका जिल्ला कारगारबाट भागेका कैदीबन्दीको खोजी तीव्र

२०८२ भदौ २६, ०२:५९ खबर संवाददाता

सुदूरपश्चिमः जेनजी समूहको आन्दोलनका क्रममा मङ्गलबार सुदूरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुर, डडेलधुरा, बैतडी, दार्चुला र बझाङ जिल्ला कारागारबाट कैदीबन्दी भागेका छन्। तीमध्ये कतिपय नियन्त्रणमा आएका छन्। 
धनगढी समाचारदाताका अनुसार कैलाली कारागारबाट ६६६ कैदीबन्दी भागेका छन्। जेनजी आन्दोलनका क्रममा मङ्गलबार कारागारबाट एक जनाबाहेक सबै कैदीबन्दी भागेका हुन्। 

काराकार प्रशासनका अनुसार कारागारमा ६६७ कैदी रहेका थिए। जेनजी आन्दोलनकारीले गरेको कारागार कार्यालय जलाउनुका साथै कारागारमा तोडफोड गरेपछि एक जनाबाहेक सबै कैदी निस्केर गएको जेलर चिरञ्जीवी सापकोटाले जानकारी दिए। उनका अनुसार निस्केर गएका कतिपय कैदी सम्पर्क आएका छन्। उनीहरू कारागारमा फर्कन चाहेको जेलर सापकोटाले बताए। “आफैँ फोन गर्दै कतिपय कैदी सम्पर्कमा आएका छन्” उनले भने।  

साउन २३ गते राति कैलाली कारागारमा दुई पक्षका कैदीबिच हिंसात्मक झडप भएको थियो। सो झडपमा एक जनाको ज्यान जानुका साथै ४८ जना घाइते भएका थिए। सो घटनाको कारण पनि नभागे कुटपिट हुने डरले कैदी निस्केर गएको हुन सक्ने बताइएको छ। कैलाली कारागारमा नेपालीसहित भारतीय नागरिक पनि थिए। भारतीय कैदीबन्दी आफ्नो देशतिरै भागेको हुन सक्ने जनाइएको छ। भागेका कैदीको खोजबिन सुरु गरिएको छ। तत्काल पक्राउ गरेर उनीहरूलाई राख्ने अवस्था पनि नरहेको जनाइएको छ। 

कारागार कार्यालयदेखि लिएर गाडी, कम्प्युटर, कागजात, सिसी क्यामरा, टिभी, भिडियो कन्फ्रेन्स, टिभी सबै तोडफोड गरेर जलाइएको जेलर सापकोटाले बताएका छन्। “अब कार्यालय नै छैन,” उनले भने, “तत्काल कैदी राख्न सकिने अवस्था नै छैन।” कारागारमा रहेका कैदी भागेपछि सुरक्षा चुनौती झनै बढेको भन्दै स्थानीयसहित सरोकारवाला चिन्तित भएका छन्। 

३३ जना नियन्त्रणमा 

डडेल्धुरा जिल्ला सदरमुकामको अमरगढी नगरपालिका–८, कीर्तिपुरमा रहेको डडेलधुरा कारागारबाट भागेका ८५ जना कैदीबन्दीमध्ये ३३ जनालाई सेना र प्रहरीले नियन्त्रणमा लिएको कारागार प्रशासक सन्तोषकुमार भट्टले जानकारी दिएका छन्। उनका अनुसार अझै ५२ जना फरार छन। उनीहरूको खोजी कार्य जारी छ। 

कारागार तोडफोड गरि कैदीबन्दी भागेका समाचार बाहिरिएपछि बुधबार बिहानैदेखि कैदीबन्दी गेटमा भेला भएका थिए। प्रशासक भट्टले भने, “प्रहरीले सुरक्षा दिँदादिँदै हुलहाल गरी कैदीबन्दी गेट तोडेर भागेका थिए। सेना र प्रहरीले खोजी कार्य जारी राखेको उनले बताए। ं कारागारमा ११८ कैदीबन्दी रहेका थिए ।” 

फर्किदै कैदी 

कञ्चनपुर जिल्ला कारागार कार्यालय २४ कैदीबन्दी फर्किएका छन्। मङ्गलबार आन्दोलनकारीले कारागारको ताला तोडेर कैदी बाहिर निकालेपछि भागेकामध्ये २४ कैदीबन्दी भने कारागारमा फिर्ता आएको कारागार प्रशासनले जनाएको हो। कारागार कार्यालय कञ्चनपुरका निमित्त जेलर रामदत्त जोशीका अनुसार, ४५३ पुरुष र २६ महिला गरेर ४७९ कैदीबन्दी रहेका कारागारमा अहिले २४ कैदीबन्दी मात्र छन्। 

दार्चुला जिल्ला कारागारबाट सुत्ने कोठाको ढोका र भित्री गेट तथा मूल गेटमा लगाइएको ताला तोडेर मङ्गलबार राति ७० जना कैदीबन्दी भागेका छन् । ६४ जना कैदी र १३ जना थुनुवामध्ये ७० जना भागेको तथा सात जना भित्रै रहेको कारागार कार्यालय दार्चुलाका जेलर सरिता चन्दले जानकारी दिएकी छन्। थुनुवा सबै भागेका छन् भने सात जना कैदीभित्रै रहेको उनले बताइन्। 

काठमाडौँको कारागारबाट कैदी भागपछि मङ्गलबार राति ९ः३० बजेतिर आन्दोलनकारी नाराबाजी गर्दै तोडफोडमा उर्लिएपछि कैदीबन्दी भाग्न सफल भएका छन्। कैदीलाई छोड्ने कि नछोड्ने भन्ने विषयमा सुरक्षा समितिमा छलफल भइरहेकै अवस्थामा उनीहरू तोडफोड गरेर भागेको बताइएको छ। भागेकाको सबै तथ्याङ्क सुरक्षित रहेको तथा विभागलाई समेत पठाइसकेको जेलर चन्दले बताएकी छन्।  

दार्चुलाका प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले भागेका कैदीलाई नियन्त्रणमा लिने काम भइरहेको बताएका छन्। बताएका छन्। “भागेका केही कैदी सम्पर्कमा आएका छन्, केहीलाई नियन्त्रणमा लिएको अवस्था छ,” उनले भने। जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले भागेका एक जना कैदी सम्पर्कमा आएको छ भने तीन जनालाई विभिन्न प्रहरी चौकीबाट नियन्त्रण लिएको जानकारी दिए। भागेका कैदी र थुनुवालाई सम्पर्कमा आउन उनले  आग्रहसमेत गरेका छन्।  

बैतडी कारागारबाट ६१ जना कैदीबन्दी आजगनी र तोडफोड गरेर फरार भएका छन् । एक जना भने प्रहरीको सम्पर्कमा आएका छन्।  मङ्गलबार राति करिब ९ बजेतिर कैदीले प्रवेशद्वार तोडफोड गरेर फरार भएको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी प्रहरी निरीक्षक बलराम पाण्डेयले बताए। उनले फरार भएका कैदीबन्दीको खोजी भइरहेको बताएका छन्।  कारागारमा ६२ जना कैदीबन्दी रहेका थिए। यस्तै बझाङ कारागारमा ८५ जना कैदीबन्दी रहेकोमा मङ्गलबार ६५ जना भागेका थिए। तीमध्ये चार जनालाई पक्राउ गरेर कारागार लगिएको छ भने बाँकीको खोजी भइरहेको छ।  
 

कमेन्ट लोड गर्नुस