सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको धनगढीमा पनि जेन्जीको प्रदर्शनः सरकार विरुद्ध चर्को नारावाजी

२०८२ भदौ २३, ०१:३९ नारायण अवस्थी

धनगढीः कैलालीको धनगढीमा पनि जेन्जी पुस्ताले सरकार विरुद्ध प्रदर्शन गरेको छ। सोमवार युवाहरूले मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय अगाडि र जिल्ला प्रशासन कार्यालय अगाडि प्रदर्शन गरेका हुन्।

मुलुकमा भ्रष्टाचार बढेको र नेता तथा तिनका समर्थकहरूको प्रत्यक्ष संलग्नतामा राज्य दोहनका घटना बढेको भन्दै युवाहरूले प्रदर्शन गर्नुपरेको बताएका छन्।

सामाजिक सञ्जाल बन्द गरेर नागरिकको आवाज बन्द गर्न खोजिएको भन्दै उनीरूले आक्रोश पोखेका छन्। सोमवारको प्रदर्शनमा प्रदेश सरकार तथा संघीय सरकार विरुद्ध चर्को नारावाजी गरिएको छ। युवाहरूले प्रधानमन्त्री र मुख्यमन्त्री विरुद्ध चर्को नारावाजी गरेका हुन्।

के भन्छन् युवाहरू?
मुख्यमन्त्री कार्यालय अगाडी भएको प्रदर्शन भेटिएका युवाहरूले संघ तथा प्रदेश सरकार विरुद्ध नारावाजी गरेका छन्। सरकारमा जुनसुकै दल र नेता गए पनि भ्रष्टाचार नियन्त्रण नभएको भन्दै युवाहरूले तीव्र असन्तुष्टि पोखेका छन्।
'सरकारको नाममा गरिने बेथिति सहन्नौँ'

प्रदशर्नमा भेटिएका कैलालीको बौनिया घर बताउने बसन्त राज जैसीले मुलुकमा अत्यधिक भ्रष्टाचार बढेकाले बाध्य भएर खबरदारी गर्न जेन्जी पुस्ताले सडकमा आउनु परेको बताए। उनले सरकारमा बस्ने व्यक्ति र उनीहरूका निकटका मान्छेहरूले भ्रष्टाचार गरेर लुट धन्दा मच्चाएको बताउँदै भ्रष्ट प्रणाली फाल्न सडकमा आउनुको विकल्प नभएको बताए। उनले भने, 'भ्रष्टाचार विरुद्धका अनेक काण्ड बाहिर आउन थालेपछि नागरिकको आवाज रोक्न सरकारले सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको हो। हामी सरकारमा बसेर गरिने अत्याचार र बेथितिलाई हेरेर बस्ने पक्षमा छैनौँ।'

'२०८४ मा दलहरूको हिसाब गर्छौ' 
धनगढीमा भएको प्रदर्शनमा भेटिएका बैतडीको पाटनका युवा राजेश चन्दले सरकारले सामाजिक सञ्जाल बन्दको निर्णय फिर्ता लिनुपर्ने बताए। उनले मुलुकमा बढेको भ्रष्टाचार नियन्त्रण गरी दोषीमाथि कारबाही गरिनुपर्ने बताए। 'सरकारले सामाजिक सञ्जाल बन्द गरेर जनताको आवाज थुन्न खोजेको छ। भ्रष्टाचार नियन्त्रण गर्नुपर्नेमा सरकारले जनताको आवाज थुन्ने बाटो समातेको छ,' उनले भने, 'सरकार र पुराना दलहरूले अत्याचार गरे अब युवाहरूले देशको नेतृत्व गर्नुपर्छ। हामीले यी पार्टीहरू २०८४ मा हिसाब गर्ने र स्वतन्त्र युवाहरूले सत्तामा आउनुपर्ने कुरा सोच्न थालेका छौँ।'

'नेताहरू भ्रष्ट भए'
धनगढीको प्रदर्शनमा भेटिएका युवाहरूले नेताहरू भ्रष्ट भएको टिप्पणी गरेका छन्। नेताहरूले आफ्ना र आफ्ना मान्छेका लागि अकुत सम्पति आर्जन गरेर अन्य युवाहरूलाई विदेश लखेट्ने उपक्रम चलाइरहेको भन्दै युवाहरूले दल र नेताहरू प्रति सन्तुष्टि पोखेका छन्। नेताहरूले भ्रष्टाचार गरेकाले आवाज उठाउनु परेको आन्दोलनमा भेटिएकी उषा मालाकारले बताइन्। उनले नेताहरूले आफ्ना सन्तानका लागि मात्रै धन आर्जन गर्ने काम गरेको बताइन्।

यस्तै, आयुशा जोशीले भ्रष्टाचार विरुद्ध आन्दोलन गर्न आएको बताइन्। आन्दोलनमै भेटिएका र आफ्नो नाम समन्वय बताउने युवाले भ्रष्टाचार विरुद्ध सबैले आवाज उठाउनुपर्ने बताए। विद्यालय पोसाकमै रहेका उनले सरकारका गलत कदम विरुद्ध सबैले खबरदारी गर्नुपर्ने बताए।

'गणतन्त्र र समाजवादका नाममा लुटतन्त्र'
मुख्यमन्त्री कार्यालय अगाडि भएको प्रदर्शनमा भेटिएका बझाङको वित्थडचिरका युवा प्रकाशकुमार ढाँटले नेताहरूले गणतन्त्र र समाजवादका नाममा लुटतन्त्र चलाइएको टिप्पणी गरेका छन्। उनले नेता र तिनका आसेपासेको मुलुकमा रजाइ चलेको र युवाहरूलाई विदेश खेद्ने काम भइरहेको भन्दै आक्रोश पोखेका छन्।

'देशमा अहिले गणतन्त्र र सामाजवादको नाममा लुट्ने काम भएको छ। युवाहरूले देशमा बसेर काम गर्ने अवस्था छैन,' उनले भने, 'देशमा युवा बस्ने वातावरण निर्माण गर्न हामीहरूले आन्दोलन गर्नु परेको हो। अहिलेकै अवस्थामा सरकारमा जो आए पनि भ्रष्टाचार नियन्त्रण हुँदैन। सिस्टम नै भ्रष्ट भयो।'

सोमवार जेन्जी पुस्ताको धनगढीको दुई ठाउँमा प्रदर्शन गरेको छ। दुबै ठाउँमा यो समाचार तयार गर्दासम्म प्रदर्शन शान्तिपूर्ण छ।

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस