धनगढीमा तीन वर्षमै सरसफाइ अभियानमा तीन लाख २४ हजारको सहभागिता
धनगढी: धनगढी उपमहानगरपालिकाले चलाएको "हाम्रो धनगढी सफा धनगढी अभियान" मा १९३ विद्यालय र ४०८ सरसफाइ टोल समिति क्रियाशील छन्।
आर्थिक वर्ष २०७९/८० देखि सुरू भएको यो अभियान धनगढीका १९ वटै वडामा क्रियाशील छ। उपमहानगरले चलाएको सफा धनगढी अभियानमा सामुदायिक र संस्थागत विद्यालयको समान सहभागिता छ। वडा स्तरमा गठन गरिएका सरसफाइ टोल समितिहरूको परिचालन सामुदायिक परिचालकले गर्छन्। हाम्रो धनगढी सफा धनगढी अभियानमा हालसम्म तीन लाख २४ हजार भन्दा बढी व्यक्ति प्रत्यक्ष सहभागी भएको वातावरण तथा सरसफाइ शाखा प्रमुख इन्जिनियर अशोक अवस्थीले बताए।
सफा धनगढी अभियानको तीन वर्ष पूरा
धनगढी उपमहानगरपालिकाले सुरू गरेको "हाम्रो धनगढी, सफा धनगढी" अभियानले तीन वर्ष पूरा गरेको छ। यो तीन वर्षमा धनगढीलाई सफा राख्ने काममा नगरवासीको प्रत्यक्ष सहभागिता बढेको छ।
आर्थिक वर्ष २०७९/०८० बाट सुरू भएको "सफा धनगढी अभियान" मा तीन वर्षमा तीन लाख २४ हजार ६१५ व्यक्ति प्रत्यक्ष सहभागी भएका हुन्। जसले गर्दा सरसफाई र फोहरमैला व्यवस्थापनमा धनगढी उपमहानगरपालिकाले नमुना काम गरेको वातावरण तथा सरसफाइ शाखा प्रमुख इन्जिनियर अवस्थीले बताए। "आर्थिक वर्ष २०७९/८० बाट यो अभियान सुरू भएको हो। अभियानमा जनसहभागिता बढेको छ। जनचेतना पनि बढेको छ। जसले गर्दा धनगढीमा सरसफाइमा नमुना योग्य काम भएका छन्," उनले भने, "सरसफाइ अभियानमा नगरवासीको ठूलो साथ र समर्थन छ।"
विद्यालयह र टोल समूह सक्रिय
धनगढीका १२५ वटा निजी विद्यालय र ६८ सामुदायिक विद्यालयसहित १९३ वटा शैक्षिक संस्थाले विभिन्न समयमा सरसफाइ अभियान चलाउने गरेका छन्।
गत वर्ष विद्यालय रहेको क्षेत्रमा पाँच सय मिटर वरपर सरसफाइ अभियान चलाउन भनिएकोमा यो वर्षबाट हरेक विद्यालयले एक किलोमीटर क्षेत्रमा सरसफाइ अभियान चलाउने नियम बनाइएको छ। यो नियमलाई बजार तथा ग्रामीण क्षेत्रका विद्यालयहरूले आत्मसात गरेका छन्। यस्तै नगरपालिकाले नियुक्त गरेका सामुदायिक परिचालकहरूले १९ वटै वडामा गठन भएका ४०८ सरसफाइ टोल समिति मार्फत टोल क्षेत्रमा सरसफाइ अभियान चलाउने गरेका छन्। जसले गर्दा सफा धनगढी अभियानले मूर्त रुप पाएको उपमहानगरले जनाएको छ।
तीन वर्षमा सरसफाइ टोल समूहमा आवद्ध २ लाख ८३६ जना स्थानीय सरसफाइ अभियानमा प्रत्यक्ष सहभागी भएको तथ्याङ्क छ। यस्तै नगर क्षेत्रका १९३ विद्यालयका एक लाख २३ हजार ७७९ जना विद्यार्थी सफा धनगढी अभियानमा प्रत्यक्ष सहभागी भएको इन्जिनियर अवस्थीले बताए।
धनगढीमा दैनिक २१ टन फोहर संकलन
धनगढीमा हाल दैनिक २१ टन फोहर संकलन हुने गरेको छ। उपमहानगरले सूक्ष्म वर्गीकरण केन्द्र र वायो ग्यास प्लान्टमा नकुहिने र कुहिने फोहरमैला व्यवस्थापन हुँदै आएको छ।
सडक क्षेत्रमा फोहरमैला संकलन गर्न नगर क्षेत्रका मुख्य सडकहरूमा कुहिने र नकुहिने फोहरमैला छुट्टाछुट्टै राख्न डस्टबिन राखिएको छ। ६ लेन सडकमा ४७६ डस्टबिन राखिएको छ भने सहिद गेट क्याम्पस रोड सडक खण्ड, चौराहा-सेती अस्पताल सम्मको मुख्य सडक र क्याम्पस चोक - मनेहरा सडक खण्डमा ६१६ वटा डस्टबिन राखिएको उपमहानगरले जनाएको छ। सडक किनारमा राखिएका डस्टबिनले सडक प्रयोगकर्ताहरूलाई फोहरमैला विसर्जन गर्न सहज भएको छ।