झोलङ्गे पुल निर्माण हुँदा स्थानीयलाई यात्रा गर्न सहज
कञ्चनपुरः झोलङ्गे पुल निर्माण हुँदा स्थानीयलाई यात्रा गर्न सहज भएको छ। कैलालीको धनगढी उपमहानगरपालिका–१३ र कञ्चनपुरको कृष्णपुर नगरपालिका–९ राजघाट जोड्ने पुल निर्माण पश्चात स्थानीयलाई यात्रा गर्न सहज भएको हो।
पुल निर्माणका लागि कृष्णपुर नगरपालिकाले आर्थिक वर्ष २०७८/०७९ मा ८० लाख ९० हजारमा टेण्डर आह्वान गरेको थियो। उपभोक्ता समिति र निर्माण कम्पनीको साझेदारीमा सो पुल निर्माण भएको हो। आर्थिक वर्ष २०८०/८१ मा पुल निर्माणको काम सम्पन्न भएको कृष्णपुर नगरपालिकाका इन्जिनियर बिष्णु जोशीले जानकारी दिए ।
वर्षातको समयमा वडा नं. ८ स्थित मजगाईबाट कष्टपूर्ण यात्रा गर्नुपर्ने बाध्यता रहेको र अहिले त्यस्तो समस्या नरहेको स्थानीय शारदादेवी चौधरीले बताइन्। ‘वर्षातको समय मोहना नदीमा बाढी आउँदा धनगढी आवतजावत गर्न गाह्रो थियो’ उनले भनिन् ‘अहिले पुल बनेपछि त्यस्तो समस्या छैन ।’
‘धनगढी काम पर्छ। उपचार गर्न या अन्य काम सबै त्यतै पर्छ’ उनले भनिन् ‘पुल बनेपछि समस्या अन्त्य भएको छ ।’
अर्का स्थानीय रेखा चौधरीले पुल बनेपछि स्थानीय खुशी भएको बताइन्। पुल बनेपछि आन्तरिक पर्यटकको चहलपहल बढेको छ। कृष्णपुर नगरपालिका,धनगढी आसपास क्षेत्रका आन्तरिक पर्यटक पुलको अवलोकन गर्न आउने गरेका छन्।
बिदाको दिन पुलमा अवलोकन गर्नेको भीड हुने गरेको स्थानीय पदम विकले बताए। शनिबार र अन्य बिदाको समय पुलमा टिकटक बनाउनेको भीड हुने गरेको उनको भनाइ छ।
पहिले चहलपहल कम थियो, पुल बनेपछि धनगढीबाट राजघाट र राजघाटबाट धनगढी आउने जानेको पनि भीड हुने गरेको छ’ उनले भने।