सुदूर नेपाललाई विश्वसँग जोड्दै

शिक्षण पेशा छोडर परठा सेन्टर किनेका अवस्थी मासिक एक लाख कमाउदै

२०८२ भदौ २१, ०७:१० नारायण अवस्थी

धनगढीः गणित विषयमा एमएड गरेका धनगढीका अमिर अवस्थीले १२ वर्षको शिक्षण पेशालाई त्यागेर आफ्नै नास्ता पसल सुरु गरे।

अवस्थीले आठ वर्ष अगाडि धनगढी–१ स्थित नगरपालिका रोडमा स्पेसल पराठा सेन्टर सुरु गरेका थिए। अवस्थीले सञ्चालनमै रहेको स्पेसल पराठा सेन्टर १२ लाखको लगानीमा खरिद गरेका हुन्। सुरुमा काम गर्न समस्या भएको बताउने अवस्थी अहिले भने आफ्नो व्यवसायमा जमेका छन्। अहिले पनि गणित शिक्षणका लागि उनलाई प्रस्ताव आउने गरेको छ। तर,जागीर भन्दा आफ्नो व्यवसायमा बढी आम्दानी भएकाले शिक्षणमा नफर्किने सोच बनाएको अवस्थीले बताए। “अहिले पनि शिक्षणका लागि विभिन्न ठाउँबाट प्रस्ताव आउने गरेको छ। १२ वर्ष शिक्षण गरेर आठ वर्ष अगाडिदेखि नास्ता पसल चलाउन थालियो, अब शिक्षणमा फर्किन्न भन्ने जवाफ दिने गरेको छु,” उनले भने, “परिवारसँगै बसेर गर्न मिल्ने यो व्यवसाय नै ठिक छ। आम्दानी पनि राम्रो नै छ।”

धनगढीस्थित नेपाल रेडक्रसको भवनको सटर भाडामा लिएर अवस्थीले स्पेसल पराठा सेन्टर चलाएका छन्। उनके शुद्ध शाकाहारी पराठा बनाउने गरेका छन्। आलु पराठा, पनिर पराठा र मिक्स पराठासँगै अवस्थीले चिया, कफी र लस्सीसमेत बनाउने गरेका छन्। जागीर छोडेर पराठा सेन्टर चलाएका अवस्थीले विदेशको भन्दा राम्रो आम्दानी स्वदेशमै गर्न सकिने बताएका छन्। उनले विदेश गएर जति मेहनत गरिन्छ त्यति नै मेहनत स्वदेशमा गर्न सके विदेशको भन्दा राम्रो कमाइ गर्न सकिने बताए। “जुन मेहनत मान्छेहरूले विदेश गएर गर्छन् त्यो यतै गर्ने हो भने विदेशको भन्दा राम्रो कमाइ हुन्छ,” उनले भने, “घरभन्दा धेरै टाढा बसेर अर्कोको भूमिमा काम गर्नुभन्दा यतै बसेर विदेशको भन्दा राम्रो आम्दानी गर्न सकिन्छ। काममा लगाव चाहिँ हुनुपर्छ।”

व्यवसाय सुरु गरेको दिनदेखि नै अवस्थीले आफ्नो पत्नी कलावती अवस्थीबाट पूर्ण सहयोग र समर्थन पाएका छन्। स्वदेशमै बसेर सँगै व्यवसाय चलाउँदा अवस्थी दम्पती निकै खुसी छन्। उनीहरूले पसल भाडा र ६ जना स्टाफको तलब खर्च कटाएर मासिक एक लाख बचत हुने गरेको बताएका छन्। “मासिक ३५ हजार सटरको भाडा पर्छ। असी हजार स्टाफको तलब हुन्छ,“ उनले भने, “सबै खर्च कटाएर महिनामा एक लाख जति बचत हुन्छ।”

स्पेसल पराठा सेन्टर किन्दा भाडामा बस्ने अवस्थी दम्पतीले अहिले भने धनगढीमा आफ्नै घर निर्माण गरेका छन्। बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म पसल चलाउने उनीहरूले व्यवसायमा हातेमालो गर्दै सहयात्रा गर्न पाएकोमा आफ्नो जोडी भाग्यमानी भएको बताएका छन्।

 

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस