धनगढीको सयपत्री फूल काठमाडौँ उड्दै, हवाई ढुवानीमा उपमहानगरको सहयोग
धनगढी: कैलालीको धनगढी-६ मटियारीका पुष्प व्यवसायी दम्पती सुशीला बिष्ट र शङ्करसिंह बिष्टले यो वर्ष दुई बिघा तीन कट्ठा जग्गामा पुष्पखेती गरेका छन्।
तीन वर्षदेखि धनगढीमा व्यावसायिक पुष्पखेती गरिरहेका बिष्ट दम्पतीले १२ महिना नै फूल उत्पादन गरिरहेका छन्। धनगढी पुष्प व्यवसायी कृषक समूहका सचिवसमेत रहेका शङ्करसिंह बिष्टले आफ्नो बारीमा उत्पादित सयपत्री फूल काठमाडौँ पठाइरहेका छन्। तीन वर्षदेखि व्यावसायिक पुष्पखेतीमा लागेका उनले कृषिमा राम्रो सम्भावना रहेको बताएका छन्। फूल खेती नै परिवारको आम्दानीको मुख्य स्रोत बताउने बिष्टले दैनिक ६/७ जनालाई समेत रोजगारी दिएका छन्। "मलाई तीन वर्ष भयो पुष्पखेती गर्न थालेको। जग्गा लिजमा लिएर खेती गरिरहेको छु। जुनसुकै खेतीमा पनि नेपालमा राम्रो सम्भावना छ," उनले भने, "यसैबाट जग्गाको भाडा तिर्ने परिवारको खर्च चलेको छ। वर्षभरि ६/७ जना महिलाहरूले पनि काम पाउनु भएको छ। मेरो पनि चुलो बलेको उहाँहरूको पनि घर खर्च चलेको छ।"
हवाई ढुवानीमा उपमहानगरको अनुदान
पुष्प व्यवसायी कृषि समूहमा आबद्ध किसानहरूले उत्पादन गरेको फूलको बजारीकरण गर्न धनगढी उपमहानगरपालिकाले समेत सहयोग गरेको छ।
सुरुमा पुष्पखेती गर्न चाहने किसानहरूलाई तालिम दिएको उपमहानगरपालिकाले अन्य प्राविधिक सहयोग पनि गरेको किसानहरूले बताएका छन्। किसानले उत्पादन गरेको फूल हवाई मार्गबाट काठमाडौँ पठाउन धनगढी उपमहानगरपालिकाले हवाई भाडामा अनुदान दिने गरेको छ। हवाईजहाजबाट पठाउँदा प्रति किलोमा ५० रुपैयाँ अनुदान उपमहानगरपालिका दिने गरेको किसान बिष्टले बताए। "गत महिनादेखि धनगढीमा खपत हुन नसकेको फूल काठमाडौँ पठाउन थालेका छौँ। हवाई भाडा प्रति कोलोको ९० रुपैयाँ छ। उपमहानगरपालिकाले हामीलाई प्रति किलोमा पचास रुपैयाँ अनुदान दिने गरेको छ," बिष्टले भने।
नगरपालिका परिसरमा फूल बिक्री केन्द्र स्थापना
धनगढी उपमहानगरपालिका र प्रदेशको कृषि विकास निर्देशनालयले पुष्पखेतीका लागि प्रविधिमा पनि सहयोग गरेको कृषक बिष्टले बताए। उपमहानगर र प्रदेश कृषि विकास निर्देशनालयको आर्थिक सहयोगमा उपमहानगरपालिका परिसरमा कोल्ड च्याम्बर स्थापना गरिएको छ।
धनगढीमा उत्पादन भएको फूलहरू बिक्री केन्द्रबाट बिक्रीवितरण गरिँदै आएको छ। वर्षभरि हरेक दिन बिक्री केन्द्रमा फूल उपलब्ध हुने व्यवस्था मिलाइएको बिष्टले बताए। "वनदेवी मन्दिरको अगाडि नगरपालिकाको पार्किङ परिसरमा फूल बिक्री केन्द्र खेलिएको छ। उक्त केन्द्रमा वर्षभरि सुपथ मूल्यमा ताजा फूल बिक्रीमा राखिएका हुन्छन्," उनले भने, "फूल बिक्री केन्द्रमा धनगढीमा पाइने फूल मात्रै होइन् अन्यत्रबाट समेत मगाएर सबै किसिमको फूल सुपथ मूल्यमा उपभोक्ताले खरिद गर्न सुविधा रहेको छ। हामी कहाँ अन्यत्रभन्दा सस्तोमा फूलहरू पाइन्छ।"
धनगढीमा जग्गा लिजमा लिएर पुष्प खेती गरिरहेका बिष्ट दम्पतीले मागको अधारमा काठमाडौँ फूल पठाइरहेका छन्। दुई बिघा भन्दा बढी जग्गामा फूलखेती गरेका बिष्ट दम्पतीले विभिन्न फूलका बेर्नासमेत बिक्री गर्दै आएका छन्। धनगढी अहिले फूलमा आत्मनिर्भर भएको छ भने सुदूरपश्चिम लगायत देशका अन्य भागमा समेत धनगढीमा उत्पादित फूल पुग्न थालेको छ।