सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलाको सदरमुकाम खलङ्गामा खानेपानीको चरम अभाव

२०८२ भदौ १७, ०३:१० खबर संवाददाता

दार्चुलाः दार्चुला जिल्लाको सदरमुकाम खलङ्गामा खानेपानीको चरम अभाव भएको छ। लगातार भइरहेको अविरल वर्षाका कारण खानेपानीको पाइप लाइन पहिरोले भत्काएपछि सदरमुकामको बजार क्षेत्रमा खानेपानीको चरम अभाव भएको हो।    

खलङ्गा खानेपानी ढल तथा सरसफाइ उपभोक्ता समिति मार्फत महाकाली नगरपालिकाको वडा ४ र ५ का विभिन्न क्षेत्रमा वितरण गरिएको खानेपानी आपूर्ती बन्द भएपछि स्थानीय समस्यामा परेका छन्। खाना पकाउन, सरसफाइ गर्न र पिउन प्रयोग गरिँदै आएको पानी आपूर्ति बन्द हुँदा स्थानीयले नेपाली सेना र सशस्त्र प्रहरीसँग पानी मागेर खानुपर्ने बाध्यता रहेको महाकाली नगरपालिका–४, खलङ्गाका स्थानीय कलावती भाटले बताइन्। 

महाकाली नगरपालिका–३, बडाली गाउँ नजिक पाइप लाइनमा खसेको पहिरोले मुलबाट ट्याङ्कीमा जम्मा हुने पानीको पाइप टुटेपछि पानी आपूर्ती बन्द भएको खङ्लगा खानेपानी ढल तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष जयदेव जोशीले जानकारी दिए। 

सदरमुकाममा खानेपानी आपूर्ती बन्द भएको तीन दिन भइसकेको खलङ्गाकी अर्की स्थानीय सङ्गीता धामीले बताइन्।  “खानेपानी अभावमा विगत तिन, चार दिन देखी सरसफाइ गर्न सकिएको छैन” उनले भनिन्। 
भत्किएको पाइप लाइन मर्मत कार्य चलिरहेको तथा छिट्टै खानेपानी आपूर्ती सूचारु हुने अध्यक्ष जोशीले बताए। बडाली गाउँको मेन लाइन र मालबेलाको शाखा लाइनको पाइप टुटेर ट्याङ्कीमा पानी आउन बन्द भएको उनले बताए। 

खानेपानी चरम अभाव भएपछि महाकाली नगरपालिकाको दमकलले बजार क्षेत्रका नागरिकलाई पानी वितरण गरीरहेको छ। स्थानीय धौलीगाड खोलाबाट पानी ल्याएर दमकलले बजार क्षेत्रमा वितरण गरीरहेको महाकाली नगरपालिकाका नगर प्रहरी हवलदार विजयसिंह ऐरीले जानकारी दिए। खानेपानीको अभाव झेलिरहनु भएका स्थानीयलाई अलिकति भए पनि राहत होस भनेर दमकलबाट पानी वितरण गर्ने काम भइरहेको उनले बताए।  

महाकाली नगरपालिका वडा–४, बङ्गाबगड, तिङ्करखेडा, बिच बजार, वडा नम्बर ५ को मोहती र गल्फै क्षेत्रमा खङ्लगा खानेपानी ढल तथा सरसफाइ उपभोक्ता समितिले खानेपानी आपूर्ती गरिरहेको छ। उल्लेखित स्थानमा दुई हजार तिन सय खानेपानीका ग्राहक रहेको खङ्लगा खानेपानी ढल तथा सरसफाइ उपभोक्ता समितिको तथ्याङ्क छ। 

कमेन्ट लोड गर्नुस