सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेताहरूले गेटामा शैक्षिक कार्यक्रम र पूर्ण क्षमताको अस्पताल चलाउन चाहेका छैनन्ः डाक्टर केसी

२०८२ भदौ १५, ०५:०६ नारायण अवस्थी

धनगढीः चिकित्सा शिक्षा सुधारका अभियन्ता डाक्टर गोविन्द केसी पुनः सत्याग्रहमा उत्रिएका छन्।

निजी मेडिकल कलेजमा सिट वृद्धि गर्ने सरकारी निर्णयको विरोधमा उनले आइतबारदेखि २३औं सत्याग्रह सुरु गरेका हुन्। कैलालीको गेटा अस्पतालमा पत्रकार सम्मेलन गर्दै डाक्टर केसीले सरकार र राजनीतिक दलका नेताहरूको कठोर आलोचना गरे। उनका अनुसार, पाँच वर्षअघि बनेको गेटा अस्पतालको पूर्वाधार आजसम्म पूर्ण क्षमतामा सञ्चालनमा ल्याउन नेताहरू इच्छुक छैनन्।

त्यस्तै, सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय ऐन बने पनि शैक्षिक कार्यक्रम सुरु नगर्नु नेतृत्वको उदासीनता भएको उनको आरोप छ।  डाक्टर केसीले भने, “नेताहरू गेटामा शैक्षिक कार्यक्रम र पूर्ण क्षमताको अस्पताल सञ्चालन गर्न चाहँदैनन्। माफियाको दबाबमा परेर सरकारले उल्टै निजी मेडिकल कलेजलाई मात्र फाइदा पु¥याउने काम गरेको छ।”उनको भनाइमा, निजी कलेजलाई अनावश्यक रूपमा सिट वृद्धि गर्न दिँदा गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा दुवै खस्किँदै गएको छ। “सिट संख्या बढ्दा गुणस्तर खस्किन्छ, शुल्क अझै बढ्छ, स्वास्थ्य उपचार झन् महँगो हुन्छ,” उनले भने।

डाक्टर केसीले सरकारले विगतका सम्झौता कार्यान्वयन नगरेको, दल–निकट मेडिकल माफियाले नीति निर्माणमा हस्तक्षेप गरेको र त्यसकै परिणाम स्वरूप शिक्षा–स्वास्थ्य क्षेत्र संकटमा परेको बताए। उनले चेतावनी दिँदै भने, “माफियाकरण अन्त्य नगरेसम्म मेरो आन्दोलन जारी रहन्छ।” 

ग्रामीण क्षेत्रमा अझै पनि हजारौं नागरिक उपचार नपाएर ज्यान गुमाउन बाध्य भएको उल्लेख गर्दै उनले राज्यले प्राथमिक स्वास्थ्य संस्थामा पर्याप्त डाक्टर, जनशक्ति र स्रोत–साधन उपलब्ध गराउनुपर्ने माग गरे। तर, सरकारले उल्टै निजी मेडिकल कलेजलाई विद्यार्थी भर्ना र शुल्क निर्धारणमा छुट दिएर स्वास्थ्य सेवा अझ असमान र महँगो बनाएको उनको आरोप छ।

यसअघि पनि पटक–पटक सत्याग्रह र आमरण अनशनमार्फत सरकारले चिकित्सा शिक्षा ऐन, मेडिकल कलेज शुल्क निर्धारण र सिट व्यवस्थापनजस्ता निर्णयहरू लिन बाध्य भएको स्मरण गराउँदै उनले भने, “तर ती निर्णयहरूलाई कार्यान्वयन गर्ने सट्टा सरकारले फेरि माफियाको स्वार्थअनुसार विपरीत निर्णय गरिरहेको छ।”

डाक्टर केसीले यसपटक गेटा अस्पताललाई सत्याग्रह स्थल बनाएको बताए। उनका अनुसार, गेटामा २०८४ सालभित्रै शैक्षिक कार्यक्रम र पूर्ण क्षमताको अस्पताल सञ्चालन गर्नुपर्ने छ। “यदि त्यो अवधिभित्र सञ्चालन भएन भने फेरि पाँच वर्षसम्म सरकारले काम नगर्ने स्थिति आउँछ,” उनले चेतावनी दिए।

डाक्टर केसीले आफ्नो सत्याग्रह गुणस्तरीय मेडिकल शिक्षा र सहज स्वास्थ्य सेवाको पहुँच विस्तारका लागि भएको स्पष्ट पारेका छन्। अन्य प्रदेशमा मेडिकल कलेज, स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालनमा रहे पनि सुदूरपश्चिममा अझै राज्यको विभेद कायम रहेको बताएका छन्। गेटामा पूर्ण क्षमताको अस्पताल चलाउन र शैक्षिक कार्यक्रम चलाउन सुदूरपश्चिमका जनताले सरकार र नेताहरूलाई दबाब दिनुपर्ने डाक्टर केसीले बताए।
 

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस