सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमका हिमालमा एकै पटक ठुलो सङ्ख्यामा आरोहण गर्ने तयारी

२०८२ भदौ १५, ०२:४९

धनगढीः पछिल्लो समय सुदूरपश्चिम प्रदेशका ६ हजार मिटर माथिका हिमालहरूको आरोहण हुन नसकेको अवस्थामा एकै पटक ठुलो सङ्ख्यामा आरोहण गर्ने तयारी गरिएको छ।
    
अपि नाम्पा संरक्षण क्षेत्रमा हुने ‘समर स्किल फर प्रोफेसनल माउन्टेन गाइड कोर्स’ मा सहभागी विद्यार्थी र प्रशिक्षकले एकै पटक यी दुई हिमालको आरोहण गर्न लागेका हुन। जसअनुसार १४ जना विद्यार्थीलाई २ हप्ता अपि हिमाल क्षेत्रमा प्रशिक्षण दिएर १३ जनाले अपि हिमाल र २० जनाले ल्हायुल पिक चढ्नेछन्।

तालिमका मुख्य प्रशिक्षक सञ्जीव गुरुङले २ हप्ताको सैद्धान्तिक तालिम काठमाण्डौमा सम्पन्न भएको र २ हप्ताको प्रयोगात्मक तालिम अपि क्षेत्रमा सम्पन्न गरेर पहिले ६ हजार ३९५ ल्हायुल पिक चढ्ने बताए। जसमा १४ जना विद्यार्थी र ६ जना प्रशिक्षक सहभागी हुने उनले बताए।

‘समर स्केल सिकाउने क्रममा हामीले ६ हजार मिटरको हिमाल चढ्नुपर्ने हुन्छ। यो सिलसिलामा हामीले अपि हिमाल नजिकको ल्हायुल पिक चढ्ने छौँ। जहाँ अहिले सम्म मानव पाइला पुगेको छैन’ उनले भने, ‘हामीले अपि क्षेत्रमा ‘समर स्किल’ तालिम दिएपछि ल्हायुल पिकमा १४ जना प्रशिक्षार्थीले आफै बाटो बनाएर चढ्न सक्छन् भन्ने विश्वास लिएका छौ।

(उनले प्रशिक्षण सकिएपछि पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले १३ जनाले अपि हिमाल चढ्ने योजना रहेको बताए। अपि हिमाल सुदूरपश्चिम र कर्णाली प्रदेशकै सबैभन्दा अग्लो हिमाल हो।जुन ७ हजार १३२ मिटर अग्लो छ। मुख्य प्रशिक्षक गुरुङले अपि हिमाल चढ्ने टिममा ६ जना प्रशिक्षक र ७ जना विद्यार्थी हुने बताए।

उनले अपि हिमालमा हुने समर स्किल फर प्रोफेसनल माउन्टेन गाइड कोर्स सञ्चालनका लागि नेपाल पर्यटन बोर्ड, युएनडिपी, नेपाल पर्वतारोहण संघ (एनएमर्ए) र अपि हिमाल गाउँपालिकाबिच सम्झौता भएअनुसार अपि हिमाल पनि आरोहण गर्न लागिएको बताए। उनले अपि हिमाल गाउँपालिकाका अध्यक्षले विशेष आग्रहमा अपि क्षेत्रमा तालिमको सेड्युल बनाएको बताए। 

उनले तालिम मात्रै नभएर यस क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि अपि हिमाल चढ्न लागिएको बताए। तालिममा सहभागी विद्यार्थीले ट्रेकिङ पिकमा माउन्टेन गाइडको काम गर्न सक्ने र अन्य हिमाल आरोहणमा सहायक माउन्टेन गाइडको रूपमा काम गर्न सक्ने जनाइएको छ। तालिमको पाठ्यक्रम सिटिइभिटि सँगको सहकार्यमा नेपाल पर्वतारोहण संघले तयार पारेको थियो। टिमको प्रशिक्षकका सगरमाथा आरोहण गरेकाहरूको समेत सहभागिता रहेको छ।

उक्त टोलीलाई शुक्रवार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले काठमाण्डौंबाट बिदाइ गरेका थिए भने शनिवार पर्यटन व्यवसायीहरूले अत्तरियाबाट बिदाइ गरेका छन्।
नाटाका सुदूरपश्चिमका संस्थापक अध्यक्ष माया प्रकाश भट्टले विगत २०१० देखिको प्रयास अहिले सफल हुने क्रममा रहेको बताए।

उनले सुदूरपश्चिमका ६ हजार मिटर माथिका हिमाल आरोहणका लागि खुलाउनको लागि गरिएको प्रयास सफल भइरहेको बताए। २०१० देखि २०२० सम्म हामीले सुदूरपश्चिमको पर्यटन क्षेत्रको जुन मार्केटिङ गरेका थियौ। अहिले त्यसको प्रतिफल आउने समय पनि हो’ उनले भने ‘सुदूरपश्चिम पर्यटनको खानी नै हो।

अझै केही समय प्रतीक्षा गर्न सके यसको ठुलो सम्भावना छ। उनले यो अभियानमा हालका प्रयर्टन मन्त्री, अपि हिमाल गाउँपालिकाको ठुलो भूमिका रहेको बताए।

दार्चुलाको अपि हिमाल गाउँपालिकामा पर्ने अपि हिमालको सन् १८९९ मा पहिचान गरिएको थियो। अपि हिमालमा सन् १९६० मा पहिलो पटक आरोहण गरिएको थियो।

यहाँ हजारौँ पर्यटक घुम्न आउने सम्भावना भए पनि पर्यटकीय क्षेत्र प्रचारप्रसार, उपयुक्त मार्ग, आवश्यक भौतिक पूर्वाधार अभाव लगायतका कारणले यहाँ पर्याप्त पर्यटक आउन सकेका छैनन्।अपिको फेदी पनि प्राकृतिक मनोरमले भरिएको छ।

 बाह्रै महिना पर्यटनको प्रचुर सम्भावना बोकेको अपि क्षेत्र पर्यटनका लागि ‘भर्जिन पर्यटन गन्तव्य हो । 

पर्यटन प्रवद्र्धन लागि हाल सङ्घीय सरकारको साउन १२ गते बसेको मन्त्रिपरिषद् बैठकले सुदूरपश्चिम र कर्णालीमा रहेका ९७ हिमाल आरोहणमा २ वर्षका लागि पूर्ण रुपमा हिमाल चढ्ने शुल्क छुट गर्ने निर्णय गरेको छ।
 

कमेन्ट लोड गर्नुस