सुदूर नेपाललाई विश्वसँग जोड्दै

गौरा पर्वको संस्कृतिलाई बचाऔँ, गौराको गरिमा बढाऔँ!"

२०८२ भदौ १५, १०:४० खबर संवाददाता

सुदर्शन भट्ट: गौरा पर्व सुदूरपश्चिमका सात पहाडी जिल्ला र मध्यपश्चिम क्षेत्रका केही जिल्लामा भाद्र महिनामा तिथिअनुसार मनाइने एक महत्त्वपूर्ण धार्मिक तथा सांस्कृतिक पर्व हो । यो पर्व गौरा (पार्वती) र भगवान शिव (महादेव) को विवाहको सम्झनामा मनाइन्छ । यस पर्वमा पारिवारिक सुख, समृद्धि, उन्नति तथा पति–सन्तानको दीर्घायुको कामना गरिन्छ ।

गौरामा तयार गरिने विशेष प्रसाद – बिरुडा

बिरुडा पाँच प्रकारका अन्नहरूको मिश्रण हो, जुन भिजाएर पूजाका लागि प्रयोग गरिन्छ र प्रसाद स्वरूप पनि खाइन्छ ।

बिरुडामा मकै, जौ, गुराँस, केराउ र गहत मिसाइन्छ ।

गौराका लागि तयार पारिने बिरुडा तृतीयाका दिन छान्ने गरिन्छ । चतुर्थीका दिन छानिएको बिरुडा मानामा भरेर देवताको स्थानमा तामाको भाँडोमा भिजाइन्छ । यस्तै, पञ्चमीका दिन गाउँकी सबै दिदीबहिनीहरू फाग गाउँदै धारामा पालैपालो बिरुडा पखाल्छन् । बिरुडा पखालेको दिन नौलाकी गौरा ल्याइन्छ। बिरुडा पखालेको दोस्रो दिन भगवान शिव–पार्वतीको विवाह सम्झेर गौरा भित्र्याइन्छ । देवी गौराको प्रतीक स्वरूप खेतबाट पवित्र घाँस, धान, बलको बोट, साउ, पहेँलो गुबो र तिलको बिरुवा जरैसहित निकालेर राखिन्छ ।

गौरा भित्र्याएको दोस्रो दिन विवाहित महिला व्रत बसेर सप्तमी धागो धारण गर्छन्। अठ्वालीको दिन गौरा पूजनपछि व्रतालु महिलाहरूले पवित्र दुबधागो लगाउँछन्। जसलाई महिलाले अर्को वर्षसम्म घाटीमा धारण गर्छन् । अर्को वर्ष नयाँ गौरा आउँदा पुरानो दुबधागो चढाएर नयाँ दुबधागो फेर्ने चलन छ ।

पर्वको गतिविधि

गौरा अवधिभर महिलाले शुद्ध खाना खाने, नयाँ–नौला कपडा लगाउने, बिहान–साँझ दीपबत्ती बालेर पूजा गर्ने र साँझपख फाग गाउने, खेल खेल्ने तथा राति अबेरसम्म देउडा खेल्ने गर्छन् । पुरुषहरूले भने ढोलकको तालमा चैत र धमारी खेल्छन् ।

गौरा भित्र्याएको ४/५ दिनपछि गौरा बिसर्जन गरिन्छ।कुनै ठाउँमा दोस्रो दिन, कुनै-कुनै ठाउँमा ४/५ दिनदेखि १०/१२ दिनसम्म पनि गौरा पर्व मनाइन्छ । गौरामा महिलाहरूले डेउडा खेल्छन् भने पुरुषहरूले ठाडो खेल खेल्छन्। जसमा विभित्र देवी- देवताका चरीत्रगाथा लयात्मक ढङ्गले गोलो घेरा बनाएर नाच्दै गाउने गारिन्छ। गौराको मुख्य आकर्षण ढुस्को र धमारी पनि हो। साँझपख देउडा पनि खेलिन्छ।

समापन विधि

अन्तिम दिन बिहानै महिलाले पूजा गरेर गौरालाई घरबाट निकाल्छन् । चामल, बिरुडा, भेटी, फलफूल चढाएर गौरालाई गोरेखलामा ल्याइन्छ । यहाँ सबैले चैत, फाग, देउडा खेल्दै रमाइलो गर्छन् । पुरुषहरूले चढाइएको फल माथिबाट फ्याँक्छन् भने महिलाले भुईँमा खस्न नदिई टिप्ने गर्छन् ।

अन्त्यमा गौरालाई मन्दिर वा पानीको धारामा विसर्जन गरिन्छ। यो दिन कुनै कुनै ठाउँमा ठूलो मेला लाग्ने गर्छ।

विश्वास र महत्व

गौरामाताबाट आशीर्वादस्वरूप चाहिएको फल प्राप्त हुने विश्वास छ—सन्तान नहुनेलाई सन्तान, धन नहुनेलाई धन र अन्न नहुनेलाई अन्न प्राप्त हुन्छ भन्ने मान्यता प्राचीनकालदेखि रहिआएको छ ।

यसरी चाडपर्व मनाउँदा आपसी सम्बन्ध घनिष्ठ हुन्छ, मेलमिलाप बढ्छ, आवश्यक पर्दा सहयोग पाउन सजिलो हुन्छ, मित्रता र भाइचाराको सम्बन्ध प्रगाढ बन्छ । साथै यसले आफ्नै कला–संस्कृतिको संरक्षण र प्रवर्धन गर्ने अवसर दिन्छ, जसलाई भावी पुस्तामा सजिलै पुस्तान्तरण गर्न सकिन्छ ।

कमेन्ट लोड गर्नुस