सुदूरपश्चिम प्रदेश सरकार असफल भयो: पूर्व मुख्यमन्त्री भट्ट
धनगढी: काँग्रेस एमाले गठबन्धनको प्रदेश सरकार असफल भएको बताइएको छ।
पूर्व मुख्यमन्त्री त्रिलोचन भट्टले मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकार असफल भएको बताएका हुन्। प्रदेश सरकारले तीन वर्ष लगाएर निर्माण गरेको स्थानीय सेवा ऐन समेत सर्वाधिक विवादित रहेको पूर्व मुख्यमन्त्री भट्टको दाबी छ। सरकारले प्रदेश सभालाई काम दिन नसकेको तथा बजेटमा समेत व्यापक चलखेल हुने गरेको पूर्व मुख्यमन्त्री भट्टको दाबी छ। मिडिया र नागरिक समाजबाट सरकारको आलोचना नहुँदा सुदूरपश्चिम सरकार स्वेच्छाचारी बनेको पूर्व मुख्यमन्त्री भट्टको ठम्याइ छ। "तीन वर्षको दौरानमा एउटा कानुन बनेको छ, स्थानीय तह सम्बन्धी कानुन। त्यो कानुन पनि विवादित छ। त्यो कानुनमा पनि ठूलो चलखेल भएको छ भन्ने बाहिर आएको छ। कानुन बनाउँदा पनि चलखेल," उनले भने, "मिडिया र यहाँको नागरिक समाज मौन देखिन्छ। यो मौन भनएको कि त प्रदेश सरकार सबैभन्दा राम्रो छ, आलोचना गर्ने ठाउँ नै छैन, कि त यो सरकार प्रतिको मौनता के हो भन्ने एउटा प्रश्न उठेको छ।"
पूर्व मुख्यमन्त्रीले वर्तमान प्रदेश सरकारले एक मात्र कानुन बनाएको भने पनि गत आर्थिक वर्षको बजेट समयमै पारित नहुँदा राजस्व उठाउने प्रयोजनले एउटा अर्को कानुन पनि निर्माण गरिएको छ। पूर्व मुख्यमन्त्री भट्टले भने वर्तमान प्रदेश सरकारले कानुन निर्माणमा समेत चलखेल गरेको दाबी गरेका छन्। उनले बजेट विनियोजनमा व्यापक चलखेल गर्दै आएको प्रदेश सरकार, प्रशासन सञ्चालन र सुशासन दिनसमेत असफल भएको बताएका छन्। सम्पूर्ण सुविधा उपभोग गरेर प्रदेश सरकार कुनै काम नगरी मस्ती गरिरहेको पूर्व मुख्यमन्त्री भट्टको टिप्पणी छ। मिडिया र नागरिक समाजले खबरदारी नगर्दा प्रदेश सरकार स्वेच्छाचारी भएको पूर्व मुख्यमन्त्री भट्टको तर्क छ। मुख्यमन्त्री र प्रदेश सभा सदस्यहरू काठमाडौँ केन्द्रित भएको पूर्व मुख्यमन्त्री भट्टले बताए। "अहिले सबभन्दा बढी काठमाडौँ दगुर्ने काम भएको छ। सबैले काठमाडौँ नै दगुर्नु थियो भने प्रदेशमा किन चुनाव लड्नु जरुरी छैनन् नि त," उनले भने, "प्रदेश सरकार र प्रदेश सभा सदस्यहरूका कारण प्रदेशप्रति प्रश्न उठेका छन्।"
पूर्व मुख्यमन्त्री भट्टले आफ्नो कार्यकालमा तीन वर्षमा ४४ ऐन निर्माण गरेको बताएका छन्। अहिले कमलबहादुर शाह नेतृत्वको सरकारले भने स्थानीय सेवा ऐन मात्रै बनाएको छ। शाह नेतृत्वको सरकारले बजेट पास गर्न विलम्ब हुँदा राजस्व उठाउने प्रयोजनले एउटा अर्को ऐन पनि निर्माण गरेको छ। त्यस बाहेक काठमाडौँ जान र आउनमै मुख्यमन्त्री, मन्त्री र प्रदेश सभा सदस्यहरूले तीन वर्ष बिताएको पूर्व मुख्यमन्त्री भट्टले टिप्पणी गरेका छन्। वर्तमान प्रदेश सरकारले दुर्गम जिल्लामा बजेट नदिएर योजनाहरू अलपत्र पार्ने काम गरेको पूर्व मुख्यमन्त्री भट्टको आरोप छ। "हाम्रो पालामा गौरवका सडक योजनाहरू प्रत्येक जिल्लामा राखेका थियौँ। आज ती गौरवका सडक योजनाहरू जहाँनेर मैले ठेक्का लगाएर पुगेका थिए त्यहीँनेर छन्," उनले भने, "खानेपानी, सिँचाइ र अन्य योजनामा दुर्गम जिल्लामा बढी बजेट जानुपर्ने हो। प्रदेश सरकार कानुन निर्माण गर्नमा असफल, प्रशासन सञ्चालनमा असफल र समन्वय गर्नमा पनि असफल भएको छ। अहिलेको सरकार सबै क्षेत्रमा असफल छ।"
मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको सरकारले प्रदेश सभालाई काम विहीन बनाएको पूर्व मुख्यमन्त्री भट्टको टिप्पणी छ। अघिल्लो सरकारले बजेट निर्माण गरेका प्रदेश गौरवका सडक योजना समेत बजेट नहालेर वर्तमान प्रदेश सरकारले पहाडी जिल्लाका नागरिकमाथि अन्याय गरेको तर्क गरिएको छ।
पूर्व मुख्यमन्त्री भट्टले कमलबहादुर शाह नेतृत्वको प्रदेश सरकार सुविधामुखी भएको बताएका छन्। आर्थिक अनियमिततामा मन्त्री समेत मुछिएका घटना सार्वजनिक हुनुले विकास निर्माण गर्न र सुशासन दिन प्रदेश सरकार पूर्ण असफल भएको पूर्व मुख्यमन्त्री भट्टको दाबी छ।