सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको मुख्य सडक निर्माण अन्तिम चरणमा, पूर्व मुख्यमन्त्री भट्ट खुसी

२०८२ भदौ १३, ०५:५१ नारायण अवस्थी

धनगढी: सुदूरपश्चिम प्रदेशकाे अस्थायी मुकाम धनगढीको मुख्य सडक निर्माणको निर्णय गर्न पाएकोमा पूर्व मुख्यमन्त्री त्रिलोचन भट्टले खुसी व्यक्त गरेका छन्। आफ्नो पाँच वर्षे कार्यकालमा गरिएका थुप्रै राम्रा निर्णयमध्ये धनगढीको मुख्य सडक बनाउने निर्णय पनि एक रहेको पूर्व मुख्यमन्त्री भट्टले स्मरण गरेका हुन्। धनगढी उपमहानगरसँगको सहकार्यमा सडक निर्माणको निर्णय भएको पूर्व मुख्यमन्त्री भट्टले बताए।

आफ्नो कार्यकालको सुरुमै सडक निर्माण गर्न चाहेको भए पनि समन्वयको अभावले लामो समयसम्म नागरिकले अस्तव्यस्त सडक प्रयोग गर्नुपरेको र आफूले आलोचना खेप्नुपरेको पूर्व मुख्यमन्त्री भट्टले बताएका छन्। मुख्यमन्त्रीको जिम्मेवारीमा बस्दासम्म प्रदेश सरकारले सडक निर्माण गर्न सकेन भन्ने आलोचना खेप्नुपरेको भए पनि अहिले सडक निर्माणको काम अन्तिम चरणमा रहेको भन्दै पूर्व मुख्यमन्त्रीले खुसी व्यक्त गरेका छन्। "प्रदेश सरकार बनिसकेपछि पनि सडक नबनेको गुनासो मैले पटक-पटक सुन्नु परेको थियो। समस्या भने मूल सडकको घर न तोड्नु थियो," उनले भने, "स्थानीय तहले सडक किनारको घर नभत्काएपछि सडक निर्माणको काम हुन सकेन। आलोचना भने प्रदेश सरकारले खेप्नुपरेको थियो।"

२०७४ देखि २०७९ सालसम्म धनगढी उपमहानगरपालिकाले मुख्य सडक निर्माणमा चासो नदिँदा आफूले आलोचना खेप्नुपरेको पूर्व मुख्यमन्त्री त्रिलोचन भट्टले बताएका छन्। धनगढी उपमहानगरपालिकाले समन्वय र सहकार्य नगर्दा चार वर्षसम्म निरन्तर आलोचनाको सिकार हुनुपरेको पूर्व मुख्यमन्त्री भट्टले बताए। त्यतिबेला धनगढीको मुख्य सडक अस्तव्यस्त हुँदा पनि प्रदेश सरकारले सडक निर्माणको योजना हाल्न नपाएको पूर्व मुख्यमन्त्री भट्टको भनाइ छ।

स्थानीय तह अर्थात् उपमहानगरपालिकाले मुख्य सडक निर्माणमा चासो नदिँदा प्रदेश सरकारले सर्वसाधारणको आलोचना खेप्नुपरेको पूर्व मुख्यमन्त्री भट्टको भनाइ छ। आर्थिक वर्ष २०७९/०८० को बजेटमा प्रदेश सरकारले कैलाली पुलदेखि क्याम्पस चोकसम्मको मुख्य सडक निर्माणका लागि बजेट विनियोजन गरेको हो। धनगढी उपमहानगरपालिकामा नयाँ नेतृत्व आएपछि प्रदेश सरकार र उपमहानगरको आपसी संवाद र सहकार्यमा योजना छनोट गरिएको पूर्व मुख्यमन्त्री भट्टले बताए।

प्रदेशको पूर्वाधार विकास कार्यालयले ६६ करोड लागतमा सडक निर्माण गर्न २०७९ मा डिपिआर बनाएर पुस महिनामा टेण्डर आह्वान गरेको हो। आफ्नो पाँच वर्षे कार्यकालको अन्तिम आर्थिक वर्षको बजेटमा योजना समावेश गरेर सडक निर्माणको टेण्डरसमेत आफू मुख्यमन्त्री हुँदा नै गरिएको पूर्व मुख्यमन्त्री भट्टले बताए। "जुन डिपिआर बनेको थियो, त्यसैको आधारमा बजेट सुनिश्चित गर्ने काम भएको हो। प्रदेश सरकारले बजेट दिने र स्थानीय तहले सडक क्षेत्र खाली गर्ने काम भएपछि योजना अगाडि बढेको हो," पूर्व मुख्यमन्त्री भट्टले भने।

धनगढी उपमहानगरपालिकाको नगर प्रमुखको रूपमा गोपाल हमाल आएपछि सडक निर्माणको विषयमा प्रदेश सरकार र उपमहानगरपालिकाबिच संवाद र छलफल सुरु भएको हो। उपमहानगरमा नयाँ नेतृत्व र जनप्रतिनिधि आएपछि प्रदेशको बजेटमा योजना समावेश गरिएको हो। धनगढी उपमहानगरपालिकाले सडक मुख्य सडकको सडक क्षेत्राधिकार खाली गराउने भएपछि ठेक्का लगाउने प्रक्रिया अगाडि बढेको हो।

प्रदेश सरकारले ६६ करोडको टेण्डर निकालेकोमा ५१ करोड ९६ लाखमा धनगढीकै केएस कन्सट्रक्सनसँग सडक निर्माणको सम्झौता भएको हो। प्रदेश सरकारले नमुनाको रूपमा निर्माण गर्न खोजेको धनगढीको मुख्य सडक अहिले निर्माणको अन्तिम चरणमा छ। उक्त सडक निर्माण हुनुले प्रदेश र स्थानीय तहको आपसी सहकार्य मजबुत हुने विश्वास पूर्व मुख्यमन्त्री भट्टको छ।

"हामी स्थानीय तहसँग सहकार्य गर्न तयार थियौँ। धनगढीमा नयाँ नेतृत्व आएपछि सडक निर्माणमा सहकार्य गर्न सकिन्छ भनेर बजेटमा योजना हालियो। अहिलेको मेयरसाब काम गर्न तयार भएपछि बजेटको सुनिश्चितता समेत गरिएको थियो," पूर्व मुख्यमन्त्री भट्टले भने।

धनगढीको कैलाली पुलदेखि क्याम्पस रोडसम्म कालोपत्र सडक निर्माणको ठेक्का सम्झौता भने २०८० वैशाख २७ गते भएको हो। आफू मुख्यमन्त्री भएको समयमा सडक पूर्वाधार निर्माण गर्न सबै पहाडी जिल्लामा समेत प्रदेश गौरवको सडक योजना छनोट गरेर बजेट हाल्ने काम भएको पूर्व मुख्यमन्त्री भट्टले बताए। धनगढी मुख्य सडक निर्माणको अन्तिम चरणमा रहे पनि पहाडी जिल्लाका प्रदेश गौरवका योजनामा भने अहिलेको प्रदेश सरकारले बजेट विनियोजन नगरेको पूर्व मुख्यमन्त्री भट्टको गुनासो छ।

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस