सुदूर नेपाललाई विश्वसँग जोड्दै

निःशुल्क दूध ढुवानी सेवा प्रदान गर्दै सहकारी

। फोटो स्रोत ।
२०७६ साउन १०, ०५:०९

दूध उत्पादन गर्ने कृषकलाई व्यवसायमा हौसला बढाउन र व्यावसायिकीकरण गर्न डुम्रे दुग्ध उत्पादक सहकारी संस्था पाल्पाले निःशुल्क दूध ढुवानी सेवा प्रदान गर्दै आइरहेको छ। तिनाउ गाउँपालिकाको डुम्रेमा सञ्चालन भएको यस सहकारीले कृषकको घरदैलोमै पुगेर आफ्नै खर्चमा दूध ढुवानी गरी बजारमा बिक्री गर्ने गरेको छ। निःशुल्क दूध ढुवानी सेवा दिन थालेपछि पशुपालन गर्ने कृषकको आकर्षण बढ्दो छ। सहकारीले घरदैलोमै आएर ढुवानी शुल्क नलिई दूध खरिद गरेको देखेपछि माथागढी गाउँपालिका–२ बस्ने पुरुषोत्तम कुमालले गाई पाल्न थालेका छन्।

घरायसी खेतीपाती गरेर बस्ने कुमाल छ वर्षदेखि गाईपालनमा लागेका हुन्। “दूध बिक्रीका लागी बोकेर बजार जानु नपर्ने, घरदैलोमै सहकारीले गाडी लिएर आउँछ, ढुवानी खर्च पनि लाग्दैन”, उनले भने। सात वटा गाई पालेका कुमालले दैनिक २५ लिटर दूध घरबाटै बिक्री गर्न पाउँदा व्यवसायमा हौसला बढेको बताउँछन्। दूध बिक्रीका लागि आफैँले लिएर बजार जानुपर्दा धेरै समय खर्च मात्र नभई मासिक ढुवानी खर्चकै लागि १०÷१२ हजार रकम खर्चनुपथ्र्यो। अहिले यो रकम बचत गर्न पाइएको कुमालको भनाइ छ।

कृषकको घरदैलोमा दूध ढुवानी गर्न दैनिक चार वटा गाडीको व्यवस्था गरिएको छ। प्रदेश सरकारको रु १० लाख अनुदानमा सहकारीले रु ११ लाख ६० हजार रकम थप गरेर पिकअप बोलेरो जीप खरिद गरेको छ भने तीन वटा गाडी भाडामा सञ्चालन गर्दै आइरहेको बजार व्यवस्थापक कृष्णप्रसाद भट्टराईले जानकारी दिए। उनका अनुसार दैनिक दूध ढुवानीका लागि १३ सङ्कलन केन्द्रमा एक÷एक जना कर्मचारी खटाइएको छ।

डुम्रे क्षेत्रमा तीन, तिनाउ गाउँपालिका–३ को झुम्सामा एक, रिब्दिकोट गाउँपालिका–६ को ठिमुरेमा दुई, ४ को भैरवस्थानमा एक, माथागढी गाउँपालिका–२ को दध्रामा एक, ३ कसेनीको सराईमा एक, तानसेन नगरपालिका–८ स्थित मदनपोखरामा दुई, ९ को बन्दिपोखराथोकमा एक, रिब्दिकोटको सोमरमा एक गरी १३ वटा सङ्कलन केन्द्रबाट कृषकको दूध खरिद गरी सहकारीले बजारसम्म पु¥याउने गरेको छ।

जिल्लामै कृषकबाट धेरै दूध खरिद गरी बिक्री गर्ने उक्त सहकारीमा दैनिक तीन हजार पाँच सय लिटर दूध सङ्कलन हुने गरेको छ। यहाँ सङ्कलित दूधमध्ये एक हजार आठ सय लिटर दूध पोखरामा बिक्रीका लागि पठाइन्छ। सहकारीमा आबद्ध रहेकामध्ये ४१ वटा ठूला दुग्ध उत्पादक फार्म आधिकारिकरूपमा दर्ता भई सञ्चालनमा छन्। कृषकले बढीमा ६५ वटासम्म दुधालु पशुपालन गरेर आम्दानीको स्रोत जुटाउँदै आइरहेका छन्।

सहकारीले १७ जना कर्मचारी परिचालन गरेको छ । गुणस्तर हेरी गाईको प्रतिलिटर ४५ देखि ५५ सम्म र भैँसीको ६० देखि ६५ सम्म कृषकबाट दूध खरिद गर्ने गरेको सहकारीले जनाएको छ। कृषकबाट खरिद गरेको गाईको दूध रु ७० र भैंसीको रु ८० सम्ममा बजारमा बिक्री गरिने सहकारीका व्यवस्थापक गोपाल जिसी बताए। सहकारीले घरमै पालेको गाईबाट जन्मेको बाच्छी हुर्काएर पहिलो पटक सुत्केरी हुने गाईलाई सुत्केरी खर्चस्वरुप रु पाँच हजार प्रदान गरेको छ। सहकारीमा फार्म दर्ता गर्ने कृषकलाई प्रोत्साहनस्वरुप रु तीन हजार, कृषकले बीमा गरेको रकमको ५० प्रतिशत सहकारीले बेहोर्ने गरेको छ।

यस्तै सहकारीले कृत्रिम गर्भाधान सेवाका एक जना पशु स्वास्थ्य प्राविधिक परिचालन, खोरेत रोगविरुद्धको निःशुल्क भ्याक्सिङ सेवा दिँदै आएको छ। सहकारीमा शेयर सदस्य सङ्ख्या २ सय  ४८ छ भने पाँच सय दूध उत्पादक कृषक छन्। दैनिक ५० लिटरभन्दा बढी दूध बिक्री गर्ने कृषकलाई प्रतिलिटर दुई रुपैयाँ रकम उपलब्ध गराउँदै आएको छ। विसं २०५१ मा स्थापना भएको सहकारीले नाफामुखी नभई कृषकमुखी कार्यक्रम गरिरहेको छ। 

यस्तै कृषिको व्यावसायिकीरणतर्फ उन्मुख बन्दै गएको पाल्पाको रामपुरले यतिखेर आधुनिक प्रविधिमा पनि फड्को मार्न थालेको छ। नवीनतम प्रविधिको प्रयोगसँगै उत्पादनमा वृद्धि हुन थालेपछि कृषिप्रतिको आकर्षणसमेत बढ्दै गएको छ। निर्वाहमुखी कृषि प्रणाली त्याग्दै उत्पादनमुखी आधुनिक प्रविधिका माध्यमबाट आम्दानीको स्रोत बढाउन रामपुरमा हालै उच्च प्रविधिको तरकारी टनेल (हाइटेक पोलिहाउस) निर्माण गरिएको छ। यो पाल्पा जिल्लामै सबैभन्दा ठूलो उच्च क्षमताको टनेल हो। कृषि शाखाको परिसरमा साढे दुई रोपनी क्षेत्रफलमा रामपुर नगरपालिकाले ३६ मिटर लम्बाइ र ३६ मिटर चौडाइको टनेल निर्माण गरेको हो।

प्रदेश सरकारको रु २५ लाख सहयोग र रामपुर नगरपालिकाको ३१ लाख गरी रु ५६ लाखको लागतमा निर्माण गरिएको हो। टनेल निर्माणको काम लगभग सकिसकेको छ र अब बेमौसमी जातको तरकारीको बिरुवा लगाउने तयारी भइरहेको कृषि शाखाप्रमुख रामहरि पाण्डेयले जानकारी दिए। नगरपालिका स्वयंले विभिन्न बेमौसमी जातका तरकारी उत्पादन गरी राजश्व बढाउने बताएको छ। यो प्रविधिको टनेल समय समयमा मर्मतसम्भार गरिएको खण्डमा दश वर्षदेखि बीस वर्षसम्म प्रयोग गर्न सकिने उनले बताए।

“यस टनेलभित्र तरकारी लगाउँदा गर्मीयाममा चिसो तापक्रम, थोपा सिँचाइ प्रविधि, हावामा सापेक्षिक आद्रता कायम गर्ने, घामको तापक्रम छेक्ने, कीरा लाग्नबाट बचाउने गर्छ”, उनले भने, “कृषकलाई आधुनिक प्रविधिबारे जानकारी गराउन यस टनेलले ठूलो टेवा पुग्ने विश्वास लिएका छौँ।”

आधुनिक प्रविधिको नयाँ टनेल निर्माण भएपछि यस क्षेत्रका कृषकमा उत्साह बढेको अगुवा कृषक सूर्यप्रसाद रेग्मी बताउँछन्। “यही टनेल हेर्नका लागि पोखरा, चितवन, बुटवल, भैरहवा लगायतका विभिन्न जिल्लामा रकम खर्च गरेर पुगियो, अहिले त अब यहीँ निर्माण भएपछि प्रविधि अवलोकनका लागि अन्यत्र जानु परेन”, रेग्मीले भने। टनेल अवलोकन गर्नेको चहलपहल बढ्दो छ।

पछिल्लो समय यस क्षेत्रमा नयाँ नयाँ आधुनिक प्रविधि कृषिमा भित्रिएका छन्। यसले कृषकको व्यावसायिक सोचसमेत बढाएको छ। यस क्षेत्रमा उत्पादन भएका तरकारी, फलफूल लामो समय नबिग्रियोस् भनेर भण्डार गरेर राख्न करिब तीन सय मेट्रिक टन क्षमताको चिस्यान केन्द्र पनि निर्माण हुने क्रममा छ। रामपुर नगरपालिका क्षेत्र कृषिका लागि सम्भावना बोकेको हुँदा पनि कृषिबाट मनग्य आम्दानी गर्न सकिन्छ।

विशेषगरी विदेश गएर स्वदेश फर्केका युवाहरुको कृषिमा लहर बढेका बेला भित्रिएका नवीनतम् प्रविधिले व्यवसायमा जोस, जाँगर बढ्ने युवा कृषक दिलबहादुर थापा बताउँछन्। प्रविधि नजान्दा कृषकले सोचेअनुसारको आर्थिक लाभ लिन सकेका थिएनन, कृषकलाई अनुदान रकमभन्दा पनि यस्ता नवीनतम् प्रविधि एवम् ज्ञान सीप आवश्यक छ”, थापाले भने। उनले दश वर्ष जति वैदेशिक रोजगारबाट फर्केलगत्तै करिब पन्ध्र रोपनी क्षेत्रफलमा बेमौसमी जातका तरकारी खेती गरेको छ।

यस्तै शहरोन्मुख हुँदै गएको नगरपालिकामा ठूलाठूला उद्योग व्यवसाय फस्टाउने क्रम छ। हालसालै मात्र जिल्लामै पहिलो उद्योगका रूपमा ‘साइलेज’ उत्पादन उद्योग पनि सञ्चालनमा आएको छ।

त्यस्तै यस क्षेत्रमा दुग्ध डेरी उद्योग, आधुनिक प्रविधिबाट तरकारी खेती विस्तार, कृषिजन्य यान्त्रिकीकरणको प्रयोग बढिरहेको छ। नयाँ नयाँ प्रविधि रामपुरमा भित्रिन थालेपछि निर्वाहमुखी कृषि व्यवसाय गरेका कृषकको व्यावसायिक कृषिमा आकर्षण बढ्दै जानुलाई अत्यन्त महत्वका साथ हेरिएको छ। रासस

कमेन्ट लोड गर्नुस