सुदूर नेपाललाई विश्वसँग जोड्दै

तिजमा मौलिकता हराउँदै

२०८२ भदौ १०, ०५:३१

धनगढीः तिज हिन्दु नेपाली नारीहरूको एक प्रमुख पर्व हो, जुन विशेषगरी हरितालिका तिज का रूपमा भाद्र महिनाको शुक्ल पक्षको तृतीया तिथिमा मनाइन्छ। यस पर्वमा महिलाहरूले शिव–पार्वतीको आराधना गर्दै दीर्घायु पति, सुखमय वैवाहिक जीवन र पारिवारिक समृद्धिको कामना गर्छन्।

विवाहित महिलाहरूले श्रीमान्को दीर्घायु, असल स्वास्थ्य, सुख र समृद्धिका लागि व्रत बस्छन् भने अविवाहित युवतीहरूले राम्रा वर पाउँ भन्ने इच्छाका साथ व्रत बस्ने परम्परा छ।

पहिलेदेखि नै यो पर्व महिलाहरूको एकता, उत्साह र उल्लाससहित मनाइँदै आएको छ। गाउँघरमा दिदीबहिनीहरू भेला भई सन्देशमूलक तीज गीत गाउँथे, देउडा खेल्थे, नाचगान र भजनमार्फत रमाइलो गर्थे। त्यतिबेला गाउँभरि तीज हेर्ने भीड लाग्थ्यो। गोठालाहरू समेत गाईवस्तु चराएर चाँडै फर्केर तीज हेर्न आइपुग्थे। साना बच्चादेखि वृद्धसम्म सबै जना सहभागी हुन्थे। महिलाहरूले तीजको तयारीकै क्रममा १–२ हप्ता अघिदेखि मासु छोड्थे, ४–५ दिन अघिदेखि लसुन–प्याज खान छोड्थे।

तीन दिनको तिज पर्व यसरी मनाइन्थ्यो :

पहिलो दिन (दार खाने दिन) : बिहान तुलसीको माटोले स्नान गर्ने, आँखाले देखेका फलफूल टिप्ने, बेलुकी शिव–पार्वतीको पूजा गर्ने र तीजका फाग (गीत) गाउने।

दोस्रो दिन (मुख्य दिन) : शुद्ध मनले व्रत बस्ने। तिलको पात वा अमलाको दाना प्रयोग गरेर १०८ पटक स्नान गर्ने, १०८ बत्ती बाल्ने, ऋषि पञ्चमीको पूजा गर्ने, ब्राह्मणबाट फल मन्त्र गराउने। विवाहित महिलाले श्रीमान्को खुट्टा धोएर पानी पिउने चलन थियो। दिनभर देउडा खेलेर रमाइलो गर्ने। यस दिन पकाएको खाद्य वा फलाम जन्य पदार्थ नखाने परम्परा थियो।

तेस्रो दिन : बिहानै स्नान गरेर घर सरसफाइ गर्ने, ब्राह्मणलाई अन्न दक्षिणा दिने र छोरी–बेटीहरूले स्वादिष्ठ शुद्ध खाना बनाएर खाने। यसरी तीन दिनको कठोर तपस्यापछि व्रत समाप्त हुन्थ्यो।

तर, आजभोलि यो मौलिक संस्कार हराउँदै गएको छ। सामूहिक भजन, देउडा र कठोर व्रतको सट्‍टा अब दर खाने भव्य कार्यक्रम, होटेल–रेस्टुरेन्ट र पार्टी प्यालेसमा हुने तडकभडक बढी देखिन्छ। वाईन, बियरस्ता पदार्थ सेवन गर्ने, बेहिसाब खर्च गर्ने, देखासिकी गर्ने प्रवृत्ति हाबी बन्दै गएको छ।

लयबद्ध भक्ति–गीत गाउने परम्परा हराउँदै, अनावश्यक हल्ला–हुल्लडका गीतहरूले ठाउँ लिएका छन्। पश्चिमा संस्कृतिको अन्धानुकरणले हाम्रो मौलिक चाड–पर्व ओझेलमा पर्दै गएको छ। यस्तो प्रवृत्तिले भविष्यको पुस्तालाई विकृति–विसङ्गतितर्फ लैजान सक्ने खतरा बढेको छ।

त्यसैले हामी सबै सचेत हुन आवश्यक छ। नराम्रा परिपाटी त्यागेर मौलिक संस्कृति र परम्परालाई जोगाउनुपर्छ। चाडपर्व आफ्नै क्षमता र सरल तरिकाले मनाउनुपर्छ। अनावश्यक खर्च घटाएर त्यो पैसा भविष्यका लागि बचत वा उपयोगी क्षेत्रमा लगानी गर्न सकिन्छ। यसरी मात्र हाम्रो मौलिक पर्वले आफ्नो सही अर्थ र पहिचान कायम राख्नेछ।

सुदर्शन भट्ट

कमेन्ट लोड गर्नुस