गाउँमा आमाको तीज र सहरको तीज: संस्कृतिको बदलिँदो स्वरूप
धनगढीः पहिले तीज भनेको सरलता र श्रमपछि आएको सानो खुसी थियो। आज तीज शहरमा चमकदमक, महँगो रेस्टुरेन्ट र सामाजिक सञ्जालको ट्रेन्डसँग जोडिएको छ। समयसँगै तीजको अर्थ बदलिँदै गएको छ। तर त्यो बदलिँदो स्वरूप बुझ्दा, मेरी आमाको सम्झना आउँछ, जसलाई ‘दर कार्यक्रम’ भन्ने कुरा आज पनि अचम्म लाग्छ।
आमाको तीज: श्रमपछि आएको रमाइलो
म सम्झिन्छु मेरी आमा तीज आउँदा दिनभर व्रत बसेको भोका पेटलाई पटुकाले कसेर घाँस काट्दै, गोबर सोर्दै, खेतबारीको काम गर्दै बिताउथिन्। अत्यास लगाउँदै हामीलाई पनि काममा सघाउन आग्रह गर्थिन, छिट्टै काम सकेर तिजमा जाउँला लाग्दो हो,तर हामीलाई त्यति वास्ता हुदैन थियो। साँझ पर्खालमा दियो बाल्ने बेलामा हतार हतार घर फर्केर नुहाई धुवाइ गरी टिनको बाकस भित्र राखेको वषौँ अगाडी किनेको रातो सारी अनी चोलोमा तयार भएर तीज बनाउने घरतिर जान्थिन्। त्यो पनि ठूला तयारी नभई– घरमा बनेका केही मीठा परिकार, हल्का गीत र सानो जमघट। त्यो सानो समयमै रमाएर आमा तीजको खुसी पाउँथिन्। उहाँका लागि तीज भन्नाले श्रमपछि आएको सन्तुष्टि हो, खर्चिलो प्रदर्शन होइन।
अहिलेको तीज दर प्रोग्राम र होटेल संस्कृति
तर आजको सहर हेर्दा त्यो तीज हराइसकेको जस्तो लाग्छ। तीज आउनुभन्दा एक महिना अघि नै शहरका होटेल र रेस्टुरेन्टमा ‘दर खाने कार्यक्रम’ सुरु हुन्छन्। बाटो, अनी हरेक पार्क र ठुला भवन भएका रेस्टुरेन्ट भित्र र बाहिर आगनमा रातो सारीमा महिलाहरू फोटोशूट गर्दै, नाचगान गर्दै देखिन्छन्। सामाजिक सञ्जालमा तिज भाइबस, रेडसारी डे जस्ता ह्यासट्याग सहित तस्बिर र भिडियोहरूको बाढी आउँछ।
केही ठाउँमा यो संस्कृतिको परिचय जोगाउने माध्यम हुन्छ, तर कतै उत्ताउला फोटो र डान्स भिडियोले तीजको मौलिकता हराउँदै गएको अनुभूति हुन्छ।
आमा र म बीचको संवाद: आश्चर्य र सोच
जब म यी कुरा आमालाई सुनाउँछु— तिज आउनु भन्दा एक महिना अगाडी देखी होटेलमा दर खाने, लाखौँ खर्च गर्ने र फोटोसुट गर्ने कुरा—उनी छक्क पर्छिन्। भन्छिन्, “हाम्रो पालामा तीज आउँदा खेतको काम सकेर बेलुकी गीत गाउँदै रमाउँथ्यौँ, गीत मार्फत महिलाहरू दुःख सुखका कुरा साटासाट गर्दथ्यौँ,होटेलमा तीज मनाउने त सुनेको पनि थिएन।”
तर पहिलेको भन्दा गाउँमा पनि अहिले अलि फरक भएको कुरा सुनाउछिन् । मैले एकदिन फोनमा भने आमा तिज आयो अब सारी किन्छु सबै वल्लो पल्लो कोठामा बस्ने साथिहरू एउटै रङको सारी किनौँ भन्छन, आमा एकछिन चुप लागिन मैले फेरी भने के गरु आमा ? पोहोर साल किनेको सारी लगाउदा हुदैन ? आमाले उल्टै प्रश्न गरीन, यो सारी मिल्दैन के आमा पुरानो भइसक्यो पोहोर सालको तिजमा लगाइसके, यसपालि राम्रो सारी चलेको छ त्यसैले किन्छु भनेकी हुँ । आमाले रिसाएर भन्नुभयो, “हाम्रो चार वर्ष अगाडि किनेको सारी अझै नयाँ छ। तीज सारी किन्नैको लागि होइन, मिलेर गीत गाउँन, दुःख–सुख साट्न हो।” र त्यसपछि फोन राखिदिनुभयो।
त्यो कुराले मलाई सोच्न बाध्य बनायो—मेरो लागि तीज अब परम्परा र आधुनिकताको बीचको द्वन्द्व बनिसकेको रहेछ।
म जस्तै पढाइका लागि गाउँबाट सहर आएका धेरै चेलीहरू छन्। अनी सहरमै बसेका महिला दिदी बहीनीहरू हामीले हरेक साल नयाँ सारी किन्ने, दर कार्यक्रममा अनावश्यक खर्च गर्ने चलन केही कम ग¥यौँ भने—तीज फिर्ता फर्किन थाल्छ। त्यो तीज, जहाँ रमाइलो छ तर प्रदर्शन छैन। सादगी छ, तर संस्कृतिको गर्व हराएको छैन। आफ्नो पहिचान जोगाउँदै, सन्तुलित तीज मनाउने बाटो हामी आफैँबाट सुरु गर्न सकिन्छ।
तीजको स्वरूप बदलिनु स्वाभाविक हो। तर परिवर्तनसँगै मौलिकता हराउनु भने चिन्ताको कुरा हो। हाम्रो पहिचान जोगाउँदै, रमाइलो र आधुनिकताबिच सन्तुलन राख्न सके तीज अझै पनि संस्कृतिको गौरव रहन्छ। आमा जस्तै पुरानो पुस्ताको मूल्य र नयाँ पुस्ताको चाहनाबिच पुल बाँध्न सकियो भने तीज साँच्चिकै अर्थपूर्ण बन्छ।
तीजलाई मौलिक बनाउने शक्ति भनेकै सादगी र आत्मीयता हो। यदि हामीले त्यो आत्मा जोगाउन सक्यौँ भने, तीज अझै पनि गौरवको पर्व बन्न सक्छ। पुरानो पुस्ताको मर्म, नयाँ पुस्ताको चाहना—दुवैलाई समेट्ने सन्तुलन कायम राख्न सकिएमा तीज केवल पर्व मात्र होइन, पीढी–पीढीलाई जोड्ने पुल बन्न सक्छ।
सँगीता बोहरा
कैलाली बहुमुखी क्याम्पस