सुदूर नेपाललाई विश्वसँग जोड्दै

वर्षाका कारण चितवन सौराहा घुम्न जाने पर्यटक घटे

। फोटो स्रोत ।
२०७६ साउन १०, ११:१४

चितवनको पर्यटकीय क्षेत्र सौराहामा वर्षाका कारण घुम्न जाने पर्यटक घटेका छन्। गत वर्षहरुको तुलनामा वर्षाको समयमा यो वर्ष पर्यटक घटेको पर्यटन व्यवसायीहरुले बताएका छन्। पर्यटक नहुँदा राप्ती नदी किनारमा रहेका रेष्टुरेन्टहरु सुनसान भएका छन्। वर्षाको समय भएको, अन्य क्षेत्रमा पनि पर्यटकीय गन्तव्य विस्तार भएको कारण पर्यटक आगमन कम भएको हो।  असार महिनाको सुरुवातदेखि घट्दै गएको पर्यटकको संख्या साउन महिनाको पहिलो सातासम्ममा अत्यन्त कम भएको व्यवसायीहरु बताउँछन्। 

सबैभन्दा बढी समूहमा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटक घटेका छन्। क्षत्रिय होटल संघ सौराहाका अध्यक्ष सुमन घिमिरेले होटलमा १० प्रतिशत मात्र पर्यटक आउने गरेको बताए। वर्षाका कारण जंगल र डुङ्गा सफारी सहज नहुने भएकाले पर्यटक घटेको उनले बताए। गत वर्ष वर्षाको समयमा दैनिक १५० पर्यटक गाडीमा आउनेगरेको तथ्यांक भए पनि यो वर्ष दैनिक १ सय पर्यटक पुग्न मुस्किल भएको व्यवसयायीहरु बताउँछन्। ‘आउनै पर्नेहरु आएका छन्, घुमेर मनोरञ्जन लिनेगरी आउने पर्यटक घटेका छन्। चितवन राष्ट्रिय निकुञ्जले असार २१ गतेदेखि जङ्गल सफारी बन्द गरेको छ।  

विसं २०७२ साल अघिसम्म यो मौसममा होटल र रेष्टुरेन्टले मजदुरलाई छुट्टी दिने गरेका थिए। त्यसपछिका वर्षमा बिदा नदीएको भए पनि यो वर्ष केही होटलले पर्यटक निकै कम भएपछि मजदूरलाई सहमतिमा बिदा दिइरहेको रेष्टुरेन्ट एण्ड बार एसोसियसन सौराहाका अध्यक्ष गोकर्ण गिरीले बताए। सौराहामा ५६ वटा रेष्टुरेण्ट रहेक छन्।

राप्ती नदीको किनारमा रहेको ८ वटा रेष्टुरेण्ट बाढी बढेका कारणले अहिले समाग्री हटाएर बसेका छन्। दुई वर्षअघि वर्षाले सौराहाका अधिकांश होटल डुबानमा परेपछि पर्यटकको उद्धार गर्नुपरेको थियो। सौराहामा १ सय १० वटा पर्यटकीय होटल रहेका छन्। यी होटलहरुमा २ हजार ७ सय ५० जना पर्यटक बस्न सक्ने क्षमता रहेको छ। सौराहामा ५६ ओटा रेष्टुरेन्ट पनि रहेका छन्।

कमेन्ट लोड गर्नुस