सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा एकै रातमा चार ठाउँमा चोरी

२०७६ साउन १०, १०:५० खबर संवाददाता

धनगढीमा पछिल्लो समय श्रृखंलाबद्ध रूपमा हुने चोरीका घटना रोकिएका छैनन्। प्रदेशको अस्थायी राजधानी समेत रहेको धनगढीमा फितलो सुरक्षा व्यवस्थाका कारण चोरी हुने क्रम बढ्दै गएको छ। बुधवार राति मात्र धनगढीका चार स्थानमा चोरी भएका छन्। बुधबार राती धनगढी उपमहानगरपालिका वडा नम्बर २ को कृष्णपुरमा रहेको एउटा पसलबाट ३० हजार नगद सहित आठ हजार बराबरका रिचार्ज कार्ड चोरी भएका छन्।

जिल्ला प्रहरी कार्यालयका अनुसार स्थानीय ज्ञानबहादुर निरौलाको पसलबाट नगर र रिचार्ज कार्ड चोरी भएको हो। यस्तै बुधबार राती नै वडा नम्बर २ कृष्णपुरमै रहेको नारायणदत्त पन्तले सञ्चालन गर्दै आएको पसलमा समेत चोरी भएको छ। उनको पसलबाट केही नगद सहित खुद्रा सामान चोरी भएको भन्दै प्रहरीमा उजुरी परेको छ।

सोही राती धनगढी उपमहानगरपालिका वडा नम्बर ३ बोराडाँडीमा पनि चोरी भएको छ। बोराडाँडीमा रहेको केदार कृषि सहकारी संस्थाको कार्यालय तोडफोड गरी ३६ हजार नगद चोरी भएको प्रहरीले जनाएको छ।

बुधबार नै धनगढी उपमहानगरपालिका वडा नम्बर ४ को दक्षिणकाली टोलका स्थानीय सावित्री कार्कीको घरबाट पाँच तोला सुनका गरगहना चोरी भएको उजुरी समेत जिल्ला प्रहरी कार्यालयमा परेको छ। कैलालीका प्रहरी नायब उपरिक्षक दक्षकुमार बस्नेतले बुधबार राती धनगढीका चार स्थानमा चोरी भएको भन्दै छुट्टाछुट्टै उजुरी परेको बताए। उनले घटनाको अनुसन्धान भइरहेको जानकारी दिए। 
 

कमेन्ट लोड गर्नुस