सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलाको तुसारा पानी–तिङ्कर सडकको दुबै तिरबाट निर्माण गरिने

। फोटो स्रोत ।
२०८२ भदौ ७, ०५:२१ खबर संवाददाता

दार्चुला : दार्चुलाको तुसारपानी–तिङ्कर सडकखण्ड दुबै तिरबाट निर्माण गरिने भएको छ। नेपाली सेनाले चालु आर्थिक वर्ष २०८२/८३ मा दुईतिरबाट सडक निर्माण गर्ने भएको हो।

सरकारले चालु आर्थिकमा तुसारपानी–तिङ्कर सडक निर्माणका लागि विनियोजन गरेको बजेट छ करोड ३१ लाख रुपियाँमा व्यास गाउँपालिका–१, छाङ्रुबाट तल तथा वडा नम्बर २ को तम्बाकुबाट सडक निर्माण गर्ने योजना रहेको नेपाली सेनाको दार्चुला–तिङ्कर सडक आयोजनाका आयोजना प्रमुख प्रमुख सेनानी राजेश कटवालले बताए।

विसं २०७७ मा मन्त्रीपरिषद्ले निर्णय गर्दै तुसारपानीदेखि तिङ्कर भन्ज्याङसम्मको ७९ किलोमिटर सडक निर्माणको जिम्मा नेपाली सेनालाई दिएको थियो। आर्थिक वर्ष २०७७/७८ देखि गत आर्थिक वर्ष २०८१/८२ सम्म नेपाली सेनाले तुसारपानीदेखि तिङ्करसम्मको ७९ किलोमिटरमध्ये १७ दशमलव ५ किलोमिटर सडकको ट्रयाक खोलेको छ। आयोजना प्रमुख प्रमुख सेनानी कटवालका अनुसार नेपाली सेनाद्वारा व्यास गाउँपालिका–३, तुसारपानीदेखि तम्बाकुभिरसम्मको १५ दशमलव ५ किलोमिटर र वडा नम्बर १ को छाङरुदेखि तिपुलच्याक्तीसम्मको दुई किलोमिटर गरी १७ दशमलव ५ किलोमिटर सडकको ट्रयाक खोल्ने कार्य भएको छ ।

यस वर्ष प्राप्त बजेटको सीमाभित्र रहेर सडकको नयाँ ट्र्याक खोल्ने र स्तरोन्नति गर्ने योजना रहेको उनले बताए। व्यास–२, आतुङ्तीदेखि कल्जुसम्मको करिब दुई सय मिटर सडक जोडिएपछि तम्बाकुभिरमा पुग्ने र त्यहाँबाट माथि तथा वडा नम्बर १ को तिपुलच्याक्तीदेखि तल नयाँ ट्र्याक निर्माणको काम गर्ने योजना रहेको छ। नेपाली सेनाले आर्थिक वर्ष २०८१/८२ देखि छाङरुबाट तल सडकको नयाँ ट्र्याक खोल्ने कार्य गरिरहेको छ।

गत वैशाख तेस्रो साता व्यासको सुन्सेराबाट छाङरुमा हेलिकोप्टरमार्फत मेसिन ढुवानी गरी सडक निर्माणको काम भइरहेको उनले बताए। सेनाले हाल तुसारपानीदेखि तम्बाकु र छाङरुदेखि तिपुलच्याक्तीसम्मका विभिन्न स्थानमा सडक निर्माण गरिरहेको छ। नेपाली सेनाले दार्चुला–तिङ्कर सडकलगायत कर्णाली कोरिडोर, बेनी–आरुघाट–लार्केभन्ज्याङ र खाँदबारी–किमाथाङ्का सडक आयोजनामा समेत कार्य गरिरहेको सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

 

कमेन्ट लोड गर्नुस