सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीको जोरायल-५ नम्बर वडा कार्यालयको सहर लक्षित सेवा : ज्येष्ठ नागरिक लाभान्वित

२०८२ भदौ ६, ०५:३४

धनगढीः डोटीको जोरायल गाउँपालिका वडा नं. ५ को कार्यालयले गाउँबाट सहर आएर शिविरमार्फत सेवा दिँदा ज्येष्ठ नागरिक लाभान्वित भएका छन्। जोरायल गाउँपालिका–५ घर भइ कैलालीका विभिन्न ठाउँमा बस्ने ज्येष्ठ नागरिक वडाको सेवाबाट लाभान्वित भएका हुन्।

वडा कार्यालयका सचिव विनोद रजवारका अनुसार कैलालीको धनगढी र अत्तरियामा शिविर सञ्चालन गरि ज्येष्ठ नागरिक लाभग्राहीको सामाजिक सुरक्षा परिचयपत्र बायोमेट्रिक विधिबाट नवीकरण गरिएको हो।

गत साउन २९ र ३० धनगढीमा सञ्चालन गरिएको शिविरबाट ६० जना ज्येष्ठ नागरिक लाभग्राहीको बायोमेट्रिक विधिबाट सामाजिक सुरक्षा परिचयपत्र नवीकरण गरिएको उनले बताए।

त्यस्तै, यही भदौ २ गते अत्तरियामा सञ्चालन गरिएको शिविरबाट सामाजिक सुरक्षाका २९ जना लाभग्राही लाभान्वित भएको उनले बताए।

गाउँसम्म जान यातायातको सहज पहुँच नभएकाले वृद्धवृद्धालाई सहज होस् भन्ने उदेश्यले यतै आएर ज्येष्ठ नागरिक लाभग्राहीको सामाजिक सुरक्षा परिचयपत्र नवीकरण गरिएको उनले बताए।

गाउँपालिकाको पञ्जीकरण शाखाको सहजिकरणमा शिविर सञ्चालन गरिएको उनले जानकारी दिए। वडासचिव रजवारले वडाको शिविर सञ्चालनका लागि प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग गर्ने सबैलाई धन्यवाद समेत ज्ञापन गरे।

वडाको पञ्जिकरण शाखाले जहाँ सेवाग्राही त्यही सेवा दिँदा ज्येष्ठ नागरिकलाई सहज भएको जोरायल गाउँपालिका–५ गडसेराका स्थानीय रविन्द्र देउवाले बताए।

उनले भने ‘वडा सचिवज्यूको पहलमा पञ्जिकरण शाखाले गरेको काम धेरै राम्रो छ। यसले ज्येष्ठ नागरिक,अशक्त,बिरामीलाई सहज भयो। वर्षातको समयमा सडक अवरुद्ध हुँदा आवतजावतमा पनि समस्या थियो। मलाई यो वडाको उत्कृष्ठ कार्य लाग्यो।’

उनले सामाजिक सुरक्षाको ‘वायोमेट्रिक’ गर्ने सर्भर राम्रो नुहँदा सेवाग्राहीले दुःख पाउने अवस्था भएको बताए। उनले भने ‘सर्भर राम्रो नचल्ने रहेछ। सर्भरले गर्दा सेवाग्राहीले लामो समय कुर्नुपर्ने रहेछ। यसमा सरकारको ध्यान जान अवश्यक छ।’

 

कमेन्ट लोड गर्नुस