कृषिबाट आत्मनिर्भर बन्दै महिला
गोरखाको पालुङटार नगरपालिका–९ की सदीक्षा कुँवरको दैनिक आजभोली निक्कै फेरिएको छ। हरेक दिन बिहान दिनभरि व्यापारका लागि के सामान किनेर ल्याउने, कसो गर्ने भन्नेमा उनको ध्यान जाने गरेको छ। गएको वैशाख महीनादेखि महिला तथा बालबालिका मन्त्रालयमार्फत वडाभित्र सञ्चालन भएको ‘खेलो खर्को’ बाट रु १७ हजार अनुदान सहयोग पाएपछि उनको दैनिकी फेरिएको हो।
“अनुदान रकमले जसोतसो फर्निचर बनाएर नजिकैको त्रिवेणी माध्यामिक विद्यालयमा सानो खाजा घर सञ्चालन गरेँ”, उनले भने, “त्यही खाजाघरबाट अहिले दैनिक रु एक हजारदेखि एक हजार ५०० सम्म आम्दानी हुने गरेको छ।” महिला तथा बालबालिका उद्धार केन्द्रको समन्वयमा जिल्लामा सञ्चालित कार्यक्रमले कुँवरलाई व्यस्ततासँगै आत्मनिर्भर पनि बनाएको छ। “अहिले थोरै पैसा आवश्यक परिहाल्यो भने अरु कसैलाई गुर्हानु पर्दैन”, उनले भने, “घर व्यवहार चलाउन पनि धेरै सजिलो भएको छ।” दैनिक एक हजार लगानी गर्दा कम्तीमा रु ५०० जति आम्दानी हुने गरेको उनले बताए। कुँवर मात्र होइन ‘खेलो खर्को’ कार्यक्रमबाट अनुदान लिएर सानो व्यवसाय गर्न शुरु गरेपछि पालुङटार नगरपालिका–९ बिर्दीकी रसमाया कुमालले पनि राम्रो आम्दानी गर्न थालेका छन्।
त्यस्तै पालुङटार नगरपालिका–९ भञ्ज्याङ डाँडाकी लालमाया तामाङले ‘खेलो खर्को’ बाट अनुदानस्वरुप पाएको रु १७ हजार सानो खाजा घरमा लगानी गरे। स्थानीय रामज्वति प्राथमिक विद्यालयको छेउमा तामाङले सञ्चालन गरेको खाजाघरमा विद्यालयबाट छुट्टी हुनेबित्तिकै विद्यार्थी दौडिएर खाजा खान पुग्छन्। उक्त खाजाघरबाट उनले आजभोलि दुई हजार ५०० सम्म आम्दानी गर्न थालेको बताउँछन्।
उनीहरु मात्र होइन पालुङटार नगरपालिका– ९ मा अहिले ‘खेलो खर्को’ कार्यक्रममार्फत त्यहाँका ३० जना महिला स्वरोजगार बनेका छन्। गएको वैशाखमा केन्द्रले पाँचदिने स्वरोजगारमूलक तालीम दिएर विपन्न महिलालाई आयआर्जनमूलक व्यवसाय गर्नका लागि प्रतिव्यक्ति रु १७ हजार उपलब्ध गराएको महिला तथा बालबालिका उद्धार केन्द्र गोरखाकी अध्यक्ष सम्झना देवकोटाले जानकारी दिए। उनले भने, “उक्त कार्यक्रममार्फत कृषि, गैरकृषि र पर्यटन गरी तीन वटा क्षेत्रमा काम गर्न पाइने भन्ने थियो, त्यसैका आधारमा यहाँ गैरकृषि क्षेत्रमा काम शुरु गरेका थियौँ, यहाँ अहिले यो कार्यक्रम निक्कै नै प्रभावकारी भएको छ।”
अनुदान रकम लिएकामध्ये कसैले काम गर्न छाडेमा पैसा फिर्ता गरी अर्कोलाई दिने व्यवस्था गरिएकाले पनि यो कार्यक्रम प्रभावकारी देखिएको अध्यक्ष देवकोटाले बताए। “राष्ट्रपति महिला उत्थान जीविकोपार्जन सुधार कार्यक्रमअन्तर्गतको ‘खेलो खर्को’ कार्यक्रम जिल्लामा अत्यन्त प्रभावकारी देखिएको छ”, उनले भने, “गरीब, न्यून आय भएका महिला र आदिवासी महिलाको जीवनस्तर सुधार गर्नका लागि केन्द्रले यो कार्यक्रम लागू गरिएको हो।”
“थोरै लगानीमा धेरै आम्दानी गर्ने ३० जना महिला स्वरोजगार बनेका छन”, उनले भने, “यो कार्यक्रमअन्तर्गत अनुदान रकम लिएकाहरु मासु पसल, खाजा घर, कपडा सिलाइ, तरकारी उत्पादन तथा स्थानीयस्तरमा पाउने बाख्रा, बोका, खसी, राँगा, भैँसीकोसमेत कारोवार गर्ने गरेका छन्।” रासस