धनगढीमा प्रथम वाल्मीकि अन्तर विद्यालय फुटसल च्याम्पियनसिप सुरू
धनगढी: धनगढीमा पहिलोपटक आयोजित प्रथम वाल्मीकि अन्तर विद्यालय फुटसल च्याम्पियनसिप सुरु भएको छ। प्रतियोगिताको औपचारिक उद्घाटन गर्दै प्रमुख अतिथि सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री मेघराज खड्काले शारीरिक तन्दुरुस्ती र मानसिक स्वास्थ्यका लागि खेलकुद अपरिहार्य रहेको बताए।
उनले विद्यार्थीलाई केवल पाठ्यपुस्तकमा सीमित नराखी खेलकुदमार्फत नेतृत्व, आत्मविश्वास, अनुशासन र सहकार्य जस्ता जीवनोपयोगी सीप सिकाउनुपर्नेमा जोड दिए। मन्त्री खड्काले भने, “संस्थागत विद्यालयहरूले गुणस्तरीय शिक्षा प्रदान गरेका छन्। यसले शिक्षाका लागि हुने पुँजी पलायन रोक्न मद्दत गरेको छ।”
शैक्षिक दर्शनमा टेकेर आयोजना
प्रतियोगिताबारे जानकारी दिँदै विद्यालयका प्राचार्य द्रोणाशिष न्यौपानेले वाल्मीकि विद्यालयको शैक्षिक दर्शनलाई व्यवहारमा उतार्नकै लागि खेलकुद आयोजना गरिएको बताए। उनका अनुसार विद्यार्थीको वृद्धि र प्रगति केवल कक्षाभित्र सीमित नभई खेलमैदानमै आत्मविश्वास, नेतृत्व र सहकार्य जस्ता मूल्यहरू सिकिने अवसर हुन्छ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिनेशराज भण्डारीले शिक्षाका नाममा भइरहेको पुँजी पलायन रोक्ने प्रयास स्वरुप वाल्मीकि विद्यालय स्थापना गरिएको बताउँदै, “शिक्षाले दक्ष जनशक्ति निर्माण गर्नुपर्छ, खेलकुदले समाज र राष्ट्रलाई जोड्ने काम गर्छ,” भन्ने धारणा राखे।
१९ विद्यालयको सहभागिता, आकर्षक पुरस्कार
प्रतियोगितामा धनगढीका १९ वटा विद्यालयले सहभागिता जनाएका छन्। तीन दिनसम्म चल्ने च्याम्पियनसिपअन्तर्गत ८ खेल हुनेछन्। विजेता टोलीलाई आकर्षक नगद पुरस्कारसहित ट्रफी प्रदान गरिने विद्यालयले जनाएको छ।
प्रतियोगितामा प्रथम हुने टोलीले ३० हजार रुपैयाँ नगद र ट्रफी, द्वितीय हुने टोलीले २० हजार रुपैयाँ नगद र ट्रफी पुरस्कार पाउनेछन्।