सुदूर नेपाललाई विश्वसँग जोड्दै

रास्वपाले घरदैलोमै पुगेर हस्ताक्षर अभियान सञ्चालन गर्ने

२०८२ भदौ ४, ०४:२९ नारायण अवस्थी

धनगढीः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी सभापति रवि लामिछानेमाथि सरकारको पूर्वाग्रही कानुनी प्रयोग भएको भन्दै जनताबीच घरघर पुगेर हस्ताक्षर अभियान सञ्चालन गर्ने घोषणा गरेको छ।

बुधबार धनगढीमा पत्रकार सम्मेलन गर्दै रास्वपाका नेताहरूले सरकारले लामिछानेमाथि राजनीतिक प्रतिशोध लिएको आरोप लगाए।

“कानुनको आवरणमा अन्याय”
रास्वपाका नेता रमेश प्रसाईंले सरकारले कानुनको आवरणमा सभापति लामिछानेमाथि अन्याय गरेको दाबी गरे। उनका अनुसार, “सरकारमा रहेका दलहरूले राजनीतिक प्रतिशोध राखेर पार्टी सभापतिलाई कमजोर बनाउने प्रयास गरेका छन्।” त्यस्तै अर्का नेता प्रमोद न्यौपानेले पनि लामिछानेमाथि कानुनको गलत प्रयोग भएको भन्दै राजनीतिक प्रतिशोधविरुद्ध हस्ताक्षर अभियानलाई देशव्यापी बनाइने बताए।

३३ लाख हस्ताक्षर सङ्कलन भइसकेको दाबी
रास्वपाका कोषाध्यक्ष दिपक बोहराले अहिलेसम्म ३३ लाख हस्ताक्षर सङ्कलन भइसकेको जानकारी दिए।

उनका अनुसार, तीन चरणमा सञ्चालन हुने अभियानअन्तर्गत अहिले दोस्रो चरण सुरू भएको छ। “पहिलो चरणमा हस्ताक्षर अभियान चलाइसक्यौँ। दोस्रो चरणमा गाउँ, टोल र घरदैलोमै पुगेर हस्ताक्षर लिँदैछौँ,” उनले भने, “सरकारले गरेको अन्यायविरुद्ध छठसम्म अभियान चलाएर अन्त्यमा सङ्कलित हस्ताक्षर जनतालाई नै बुझाउनेछौँ।”

सुदूरपश्चिममा सक्रिय अभियान
रास्वपाले अहिले सुदूरपश्चिमका हिमाली बाहेकका सबै जिल्लामा हस्ताक्षर सङ्कलन अभियान सञ्चालन गर्ने तयारी गरेको छ। साथै भारतसँग जोडिएका प्रमुख नाका क्षेत्रहरूमा पनि अभियान सञ्चालन गरिने पार्टीले जनाएको छ।
 

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस