धनगढीको लक्ष्मीनारायण मन्दिरमा श्रीकृष्ण जन्माष्टमी मनाइँदै
धनगढीः भगवान श्रीकृष्णको जन्मजयन्ती जन्माष्टमी आज सुदूरपश्चिमभर श्रद्धा र भक्तिभावका साथ मनाइँदैछ।
धनगढी–१ स्थित ऐतिहासिक लक्ष्मीनारायण मन्दिरमा विशेष धार्मिक कार्यक्रम आयोजना गर्दै भक्तजनहरूले उल्लासपूर्वक पर्व मनाइरहेका छन्। मन्दिर परिसरलाई आकर्षक ढंगले सजाइएको छ। बिहानैदेखि दर्शनार्थीहरूको घुइँचो लागेको छ भने भक्तजनहरूले तुलसीदल, फूल, अक्षता, र धूपदीपसहित श्रीकृष्णको पूजा अर्चना गरेका छन्।
भक्तजनहरूले दिनभर उपवास बसेर मध्यरातमा भगवान श्रीकृष्णको जन्म क्षणमा विशेष पूजा र आरती गर्ने तयारी गरेका छन्। मन्दिर व्यवस्थापन समितिका प्रवन्धक हरिप्रसन्न न्यौपानेका अनुसार बिहानदेखि नै श्रीमद्भागवत वाचन, भजन–कीर्तन र गीता पाठ भइरहेको छ। आज राति १२ बजे विशेष आरतीसहित ‘झुला महोत्सव’ आयोजना गरिने र बालकृष्णलाई झुलामा झुलाइने कार्यक्रम तय गरिएको छ।
धार्मिक विश्वासअनुसार, भाद्र कृष्ण अष्टमीको मध्यरातमा भगवान विष्णुको आठौँ अवतारका रूपमा श्रीकृष्णको जन्म भएको थियो। उहाँले अत्याचारी कंसको वध गरी धर्मको स्थापना, अन्यायको अन्त्य र सत्यको रक्षा गर्नुभएको थियो।
यसरी, श्रद्धा, भक्ति र उल्लासका साथ मनाइँदै गरेको श्रीकृष्ण जन्माष्टमीले आज धनगढीको लक्ष्मीनारायण मन्दिर मात्र नभई सुदूरपश्चिमका विभिन्न धार्मिक स्थलहरूमा समेत भक्तजनलाई आध्यात्मिक भावनामा एकत्रित गराएको छ। भोलि अर्थात् भदौ १ गते धनगढीमा डोलजात्रा निकालिने छ। डोलजात्रामा विभिन्न सांस्कृतिक झाँकी प्रदर्शन गरिनेछ।