सुदूर नेपाललाई विश्वसँग जोड्दै

कुवेतमा पछिल्लो तीन दिनमा ९ जना नेपाली श्रमिकहरुको ज्यान गयो

२०८२ साउन ३०, ०५:५४

धनगढीः कुवेतमा पछिल्लो तीन दिनमा नौ जना नेपाली श्रमिकहरुको ज्यान गएको छ। अरू १५ जना भन्दा धेरै नेपालीहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको कुवेतमा रहेको नेपाली दुतावासलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ।

कुवेतको स्वास्थ्य मन्त्रालयले विज्ञप्ती निकालेर मेथनोल मिसावट गरेको रक्सी खाएका कारण एक सय ६० जना भन्दा धेरै प्रभावित भएका र उनीहरु मध्ये २३ जनाको ज्यान गएको जनाएको छ। मृतक सबैजसो एशियाली देशका रहेका मन्त्रालयले आज निकालेको विज्ञप्तीमा उल्लेख छ। विज्ञप्तीमा देश उल्लेख नभए पनि ज्यान गुमाउने नौ जना नेपाली तिनै २३ जना मध्येका रहेका कुवेतमा रहेको नेपाली दुतावासले जनाएको छ।

बीबीसीसँगको कुराकानीमा नेपाली दूतावासका श्रम सहचारी गिरिप्रसाद आचार्यले कुवेतका अधिकारीहरुका अनुसार अवैध रूपमा बिक्री हुने रक्सीकै कारण ज्यान गएको बुझिए पनि पोष्टमार्टम रिपोर्ट आउन बाँकी रहेकोले कारण स्पष्ट भएको छैन। उनका अनुसार उपचार गराइरहेका मध्ये सबैजसो विशाक्त रक्सी खाएपछि बिरामी परेका हुन्।

कुवेतका स्थानीय सञ्चार माध्यमहरूले नेपालीसँगै भारतीय श्रमिकहरूको पनि विषाक्त रक्सी खाएका कारण ज्यान गएको उल्लेख गरेका छन्। कुवेतमा यसअघि पनि गैरकानूनी रूपमा बिक्री हुने रक्सीमा विषाक्त रसायन प्रयोग गरिँदा नेपाली श्रमिकहरूको ज्यान जाने गरेको थियो। कुवेतमा रक्सी उत्पादन र बेचबिखन पूर्ण रूपमा प्रतिबन्धित छ। 

कमेन्ट लोड गर्नुस