मौद्रिक नीति सार्वजनिक हुँदै
आर्थिक वर्ष २०७६÷७७ को मौद्रिक नीति बुधबार सार्वजनिक हुँदैछ। नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक लक्ष्मी प्रपन्न निरौलाले बुधबार दिउँसो ४ बजे नीति सार्वजनिक हुने उज्यालोलाई जानकारी दिए। अहिले बसिरहेको सञ्चालक समितिको बैठकले मौद्रिक नीतिलाई अन्तिम रुप दिइरहेको छ।
यस पटकको नीतिले ठूला बैंक गाभ्ने अर्थात् ’बिग मर्जर’ लाई विशेष प्राथमिकता दिनेछ। त्यसको लागि मौद्रिक नीतिमै केही सहुलियतको व्यवस्था हुने राष्ट्र बैंकले जनाएको छ। त्यस्तै उथलपुथल भैरहने ब्याजदर नियन्त्रणको लागि पनि केही विशेष व्यवस्था आउनेछ।
यस्तै नीतिले ८ दशमलव ५ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्न प्राथमिकता प्राप्त क्षेत्रमा लगानी बढाउने व्यवस्था गर्नेछ। वर्तमान गभर्नर चिरञ्जीवी नेपालको यो अन्तिम मौद्रिक नीति हुनेछ। उनले ८ महिनापछि अवकाश पाउँदै छन्।