सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिम प्रदेश सरकार मापदण्ड विपरित सडक निर्माण गर्दै

२०७६ साउन ८, ०६:५९ कमल सावद

सुदूरपश्चिम प्रदेश सरकारले आवश्यक मापदण्ड पुरा नगरी सयौँ सडक निर्माण गर्दै आएको छ। मापदण्ड निर्धारण नगरी सडकको निर्माण गरिदा सडकमा गरिएको लगानी वालुवामा पानी जस्तै हुन थालेको छ। प्रदेशले कार्यान्वयन गर्दै आएका झण्डै तीन सय सडकका योजनामा अधिकासंको अहिले सम्म विस्तृत परियोजना प्रतिवेदन डिपिआर र वातावरणीय प्रभाव मुल्याङकन समेत गरिएको छैन्। 

प्रदेश गौरवका नौँ वटा सडकको समेत  डिपिआर र वातावरणीय प्रभाव मुल्याङक समेत बनाउँनै बाँकी रहेको छ। गत आर्थिक वर्षको फागुन १ गते बसेको सुदूरपश्चिम प्रदेश मन्त्रीपरिषदको बैठकले सुदूरपश्चिमका नौँ जिल्लामा नौँ वटा सडकलाई प्रादेशिक गौरवका सडकको रुपमा निर्माण गर्ने निर्णय गरेपनि ति सडकको समेत अहिले सम्म निर्माण अघिका मापदण्ड पुरा गरिएको छैन्। सडक योजनाको विस्तृत योजना प्रतिवेदन पनि तयार नभएपछि सडक योजना कार्यान्वयनमा पनि समस्या हुँदै आएको प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तरगतको पूर्वाधार विकास कार्यालय डडेलधुराका प्रमुख रामचन्द्र खत्रीले बताए। 

गत आर्थिक वर्ष २०७५/०७६ मा सडकहरुको विस्तृत परियोजना प्रतिवेदन निर्माण गर्न पूर्वाधार निर्देशनालयले काम थालेको थियो। नौ सडकमा केहि सडकको मात्र विस्तृत परियोजना प्रतिवेदन तयारीको काम थालिएकोमा अझै पूर्ण नभएको पूर्वाधार विकास निर्वेशनालयका प्रमुख प्रेमदत्त भट्टले बताए। गत आर्थिक वर्षमा प्रदेश गौरवका सडकका लागि ५ करोड बजेट विनियोजन गरेको प्रदेश सरकारले चालु आर्थिक वर्षमा नौ सडकका लागि ४६ करोड ८१ लख वजेट विनियोजन गरिएको छ। तर डिपिआर, वातावरणीय प्रभाव मुल्याङकन नगरि सडक निर्माण गर्दा दुर्घटनासंगै प्राकृतीक प्रकोपको समेत जोखिम बढाउने सम्भवना रहेको छ। 

सुदूरपश्चिम प्रदेश सरकारले कैलालीको भजनी–छोटी–भन्सार–ठुलीगाड सडक, कञ्चनपुरको बेलौरी–कलुवापुर–नाईल–बुडर सडकलाई प्रदेशको गौरवको योजनामा राखेको थियो। डोटीको सहजपुर–बोकटान–दिपायल सडक र डडेल्धुराको दैजी–पोखरा–ढुङगाड सडक, बैतडीको सदबाज–श्रीभावर–हाट–दार्चुला सडक, बझाङको दिपायल–साईपाल सडक र दार्चुलाको देथला–खार–खलङगा–खण्डेश्वरी सडक पनि गौरवको योजनामा राखेको छ। अछाम पूर्वाधार कार्यालयले कार्यान्वयन गर्ने चिसापानी–जंगलघाट–तुर्माखाद–गैरीटाड–कालागाउँ–जयगढ–नन्देगडा हुँदै बडिमालिका जोड्ने सडक र बाजुराको खप्तड–मार्तडी–सिगटा–काडा–जयबागेश्वर–गैराखाद–डोगडी–आँटीचौर–मार्तडी सडक प्रदेश सरकारको गौरवको आयोजनामा राखिएको छ। 
 

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस