सुदूर नेपाललाई विश्वसँग जोड्दै

सरकारले पठाएको बजेट खर्च नभएको भन्दै अमरगढी किल्लामा तालाबन्दी

२०७६ साउन ७, ०६:५३ खबर संवाददाता

सरकारले पर्यटकीय गन्तव्य तोक्दै पठाएको बजेट कार्यान्वयन नभएको भन्दै ऐतिहासिक अमरगढी किल्लामा तालाबन्दी गरिएको छ। डडेल्धुराको अमरगढी नगरपालिका–५ मा रहेको ऐतिहासिक पर्यटकीय स्थल अमरगढी किल्लामा किल्ला पर्यटन पूर्वाधार क्षेत्र विकास समितिले तालाबन्दी गरेको हो। देशका सय पर्यटकीय गन्तव्यमा अटाएको अमरगढी किल्लाका लागि सरकारले ५० लाख बजेट विनियोजन गरेको थियो। तर दुई लाख मात्रै खर्च गरेर ४८ लाख बजेट फ्रिज गएपछि विकास समितिले तालाबन्दी गरेको हो।

तालाबन्दी भएपछि डडेल्धुरा पुग्ने पर्यटकहरु अमरगढी किल्ला अवलोकन गर्नबाट बञ्चित भएका छन् तर तालाबन्दी खोल्न स्थानीय प्रशासन र स्थानीय सरकारले वेवास्ता गरेका छन्। सस्कृती पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले अमरगढी किल्लालाई देशभरीका सय र सुदूरपश्चिमका १० पर्यटकीय गन्तव्यमा राखेपछि योजना कार्यान्वयनका लागि ५० लाख बजेट अमरगढी नगरपालिकालाई पठाईएको थियो। तर असारमा आएर मात्रै काम भएपछि ठुलो बजेट फ्रिज गएको हो। अमरगढी किल्ला पर्यटन पूर्वाधार क्षेत्र विकास समितिका अध्यक्ष प्रवीण जैरुले गत पुसमा बजेटको अख्तियारी आएपनि जेठ ३० गते मात्रै सम्झौता गरिएको बताए। नगरपालिकाले कामको मूल्याकंन नगरी पेश्की स्वरुप दुई लाख रुपैयाँ मात्रै दिएर बाँकी रकम फ्रिज हाल्ने काम गरेकाले किल्लामा ताला लगाएको उनले बताए। 

पुनर्निमाणका लागि पुरातत्व विभागबाट अनुमती ढिलो गरि आएकोले बर्षको अन्त्यमा मात्रै योजना कार्यान्वयनको चरणमा गएको र काम गर्न नसक्दा दुई लाख मात्रै भुक्तानी भएको अमरगढी नगरपालिकाका मेयर विपिन ओझाले बताए। उनले बल प्रयोग गरेर भएपनि भोली गेट खोल्ने बताए। समुद्री सतहबाट लगभग ६ हजार ५ सय फिट उचाइमा रहेको अमरगढी किल्ला नेपाल एकिकरणका बेला बडाकाजी अमरसिंह थापाद्वारा निर्माण गरिएको थियो। अमरगढी किल्लाभित्र सैनिकका लागि २२ वटा गुफा बनाइएको छ भने युद्ध छल्न तथा सफलताका लागि शस्त्रनिरोध मार्ग निर्माण गरिएको छ। पछिल्लो समय छिमेकी जिल्ला बैतडी, दार्चुला, डोटी, बझाङका साथै कैलाली, कञ्चनपुरबाट समेत घुम्नका लागि पर्यटकहरु अमरगढाी किल्ला पुग्ने गरेका थिए।
 

कमेन्ट लोड गर्नुस