काठमाण्डौँ महानगरद्धारा रविन्द्र ढाँटलाई २ लाखसहित सम्मान,सरकारले पनि ५ लाख दिने
धनगढीः काठमाडौं महानगरपालिकाले अन्तर्राष्ट्रिय स्तरमा नेपालको नाम राख्न सफल एमएफएन फाइटर रवीन्द्र ढाटलाई नगद पुरस्कारसहित सम्मान गरेको छ।
सोमबार आयोजित एक कार्यक्रममा एमएफएन ब्यान्टमवेट च्याम्पियन ढाटलाई सम्मान सहित २ लाख रुपैयाँको चेक हस्तान्तरण गरेको हो। सामाजिक विकास समितिको सिफारिसमा गरिएको उक्त सम्मान कार्यक्रममा काठमाडौं महानगरपालिकाका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत र समितिका संयोजक रामकुमार केसी लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा बोल्दै सामाजिक विकास समितिका संयोजक रामकुमार केसीले यस्ता खेल र खेलाडीले नेपालको शिर ठाडो बनाएको बताए। ‘महानगरपालिकाले नेपालको तर्फबाट खेल्ने टोलीहरूलाई विगतमा पनि सम्मान गर्दै आएको छ र भविष्यमा पनि यो परम्परालाई निरन्तरता दिनेछ,’ केसीले थपे।
बझाङका रवीन्द्र ढाटले भारतको नोएडामा भएको म्याट्रिक्स फाइट नाइट (एमएफएन) १७ मा भारतकै चोंगरेंग कोरेनलाई तेस्रो राउन्डमा पराजित गर्दै ब्यान्टमवेट च्याम्पियनको उपाधि जितेका थिए।
यो जितसँगै उनी यो उपाधि जित्ने पहिलो नेपाली फाइटर बनेका छन्। यो जितले रवीन्द्रको व्यावसायिक रेकर्ड ८–१ मा सुधार भएको छ भने कोरेनको पाँच फाइटको जित यात्रामा पूर्णविराम लागेको छ।
सम्मान ग्रहणपछि बोल्दै ढाटले महानगरको सम्मानले आफूलाई थप हौसला मिलेको बताए। ‘हजुरहरूले खेलाडीलाई सम्मान गर्नुभएकोमा म धेरै खुशी छु। अब आगामी दिनमा अझ राम्रो प्रदर्शन गर्ने कोसिस गर्नेछु। यो सम्मानले हामीलाई अगाडि बढ्न थप प्रेरणा दिन्छ,’ उनले भने।
त्सैगरी, च्याम्पियन रवीन्द्र ढाँटलाई नेपाल सरकारले ५ लाख रुपैयाँ दिने भएको छ। सोमबार कसेको मन्त्रीपरिषद् बैठकको निर्णयले ढाँटलाई ५ लाख पुरस्कार दिने निर्णय गरेको हो। खेलकुदमन्त्री तेजुलाल चौधरीले सरकारले ढाँटलाई ५ दिने निर्णय गरेको जानकारी गराएका हुन्। काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै सोमबार बसेको मन्त्रीपरिषद् बैठकले ढाँटलाई ५ लाख पुरस्कार दिने निर्णय गरेको जानकारी दिए।