सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलामा वन लसुनसहित एक महिला पक्राउ

२०८२ साउन २७, १२:४३ खबर संवाददाता

दार्चुलाः दार्चुलामा वनलसुन सहित एक महिला पक्राउ परेकी छन।

पक्राउ पर्नेमा जिल्लाको नौगाड गाउँपालिका–४ सिप्टीकी ३१ वर्षिया धाना धामी रहेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक छत्रबहादुर रावतले हिमाली जडीबुटी वन लसुन भारतबाट अवैधरुपमा नेपाल ल्याउने क्रममा धामीलाई पक्राउ गरिएको बताए।

उनका अनुसार सदरमुकाम खलङ्गास्थित नेपाल–भारत जोड्ने पुलमा सुरक्षार्थ खटिएको नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले उनलाई पक्राउ गरेको हो। सोमवार बेलुकी प्रहरीले धामीको साथबाट पाँच किलोग्राम वन लसुन बरामद गरेको रावतले बताए। उनका अनुसार सङ्कलन पुर्जी (अनुमति पत्र) बिना भारतबाट नेपाल भित्र्याइरहेको वन लसुनसहित ती महिलालाई पक्राउ गरी हिरासतमा राखिएको छ।

सदरमुकाम क्षेत्र वन कार्यायलको क्षेत्रमा पर्ने भएका कारण ती महिलालाई आवश्यक प्रक्रिया पूरा गरी डिभिजन वन कार्यालय दार्चुलाको जिम्मा लगाइने प्रहरी निरीक्षक रावतले बताए। यता डिभिजन वन कार्यालय दार्चुलाका कार्यालय प्रमुख लक्ष्मीराज जोशीले राजस्व दाखिला गरी सङ्कलन अनुमति लिएर मात्रै वन लसुनको सङ्कलन तथा ओसारपसार गर्न पाइने बताए।
 

कमेन्ट लोड गर्नुस