झण्डै डेढ महिनापछि धनगढीमा हावाहुरी पीडितलाई राहत वितरण शुरु
जेठ २३ गते आएको हावाहुरी पीडितहरुलाई धनगढी उप–महानगरपालिका मार्फत झण्डै डेढ महिनापछि राहत वितरण गर्न सुरु गरिएको छ। प्रदेश सरकारले जिल्ला प्रशासन कार्यालय मार्फत पठाएको एक करोड २७ लाख ६५ हजार रकम उप–महानगरपालिकाले मंगलबार देखि राहत स्वरुप पीडित परिवारलाई वितरण गर्न सुरु गरेको हो। मंगलबार वडा नम्वर १५ का हावाहुरी पीडितहरुलाई उप–महानगरपालिका कार्यालयबाट राहत वितरण गरिएको छ। राहत बुझ्नेहरुको बिहानै देखि धनगढी उप–महानगरपालिकामा भिडभाड लागेको थियो। वडा स्तरबाटै राहत वितरण गर्नुपर्ने भएपनि उप–महानगरपालिकाको कार्यालयबाटै वितरण भईरहेको छ।
पीडितको विवरण संकलन, छानविन लगायतका धेरै प्रकृया पुरा गर्नुपर्ने भएकाले नगद राहत वितरणमा ढिलाई भएको नगर प्रमुख नृपवहादुर वडले बताए। नगरस्तरीय बिपद ब्यबस्थापन उप–समितिका संयोजक प्रेमबहादुर विकले धनगढी उप–महानगरपालिका क्षेत्रमा दुई हजार पाँच सय ४६ परिवारले राहत पाउने बताए। जसमध्ये तीन जना पूर्ण क्षति भएका छन्। आंशिक क्षति भएकाहरुले पाँच हजार र पूर्ण क्षति भएकाले १० हजार राहत पाउने छन्। बिपद ब्यबस्थापन उप–समितिका संयोजक विकले जिल्ला बिपद ब्यबस्थापन समितिको निर्णय अनुसार राहत वितरण भईरहेको बताए। उप–महानगरपालिकाले पनि छुट्टै निर्णय गर्दै राहत वितरण गर्ने बताएपनि उक्त राहत भने अझै वितरण सुरु गरिएको छैन्। प्रदेशले पठाएको राहत रकम वितरण गरिसकेपछि मात्रै उप–महानगरपालिकाले थप राहत वितरण गर्ने संयोजक विकले बताए।
धनगढी उप–महानगरपालिकाले पूर्ण क्षति भएका घरधनीलाई छ हजार, मध्यम क्षति भएकोलाई तीन हजार, पशुपक्षीमा भएको क्षतिलाई तीन हजार र ब्यावसायीक खेतीमा भएको क्षतीमा तीन हजार राहत सहयोग गरिने छ।