श्रावणको रमाइलोमा झुला महोत्सवः लक्ष्मीनारायण मन्दिरमा भक्तजनको जमघट

धनगढीः श्रावण महिनाको शुक्ल तृतीयादेखि सुरु भई पूर्णिमासम्म मनाइने झुला महोत्सव अहिले धनगढीको लक्ष्मीनारायण मन्दिरसहित देशभरका वैष्णव मन्दिरहरूमा श्रद्धा र उल्लासका साथ मनाइँदैछ।
यस धार्मिक पर्वमा भगवान श्रीकृष्ण र राधालाई फूल, रेशमी कपडा र रंगीन बत्तीले सजाइएको झुलामा विराजमान गराएर पूजा–अर्चना तथा भजन–कीर्तन गर्ने परम्परा छ। लक्ष्मीनारायण मन्दिरमा भक्तजनको उपस्थितिमा भजन गर्दै झुला महोत्सव मनाउने गरिएको छ।
मुख्य मन्दिरमा सुनौलो तथा रजत–सिंहासनमा सजाइएको झुला, रंगीन पुष्पमालाले सजिएको मण्डप र भजन–कीर्तनको गुञ्जन वातावरणलाई भक्तिमय बनाइरहेको छ। स्थानीय बालबालिका, युवा र वृद्धहरू सबै मिलेर भगवानको झुला तान्ने, भजन गाउने र प्रसाद वितरण गर्ने कार्यमा सहभागी देखिएका छन्।
वैष्णव शास्त्र भक्तिरसामृत सिन्धु र हरिभक्तिविलास अनुसार, झुला महोत्सव वर्षा ऋतुमा भगवानसँगको प्रेम र भक्ति भाव व्यक्त गर्ने विशेष अवसर हो। धार्मिक मान्यताअनुसार, यस समयमा भगवानलाई झुलाउँदा आध्यात्मिक आनन्द र पुण्य प्राप्त हुने लक्ष्मीनारायण मन्दिरका स्वामी श्री १००८ देवराज आचार्यले जनाएका छन्।

यस अवसरमा विशेष पूजा–पाठ, श्रीमद्भागवत कथा वाचन र भजन संध्या आयोजना गरिन्छ। उनका अनुसार, “यो महोत्सव केवल एक धार्मिक पर्व मात्र होइन, धनगढीको सामाजिक एकता र धार्मिक सम्प्रेषणको पनि प्रतीक हो।“


धार्मिक विद्वानहरूको भनाइमा, झुला महोत्सव भक्त र भगवानबीचको आध्यात्मिक सम्बन्धलाई सुदृढ बनाउने सांस्कृतिक साधना हो, जसले समाजमा प्रेम, एकता र भक्तिको भावना जागृत गराउँछ।
आज अर्थात् पूर्णिमाको दिन झुला महोत्सव समापन हुनेछ।