धनगढी–१८ को चन्द्रोदय माविलाई शैक्षिक सामग्री हस्तान्तरण, नगर प्रमुखको असन्तुष्टि र चेतावनी
धनगढीः धनगढी उपमहानगरपालिकाले वडा नम्बर १८ मा रहेको चन्द्रोदय माध्यमिक विद्यालयलाई शैक्षिक सामग्री हस्तान्तरण गरेको छ।
सामुदायिक विद्यालय शैक्षिक गुणस्तर सुधार कार्यक्रम अन्तर्गत शुक्रवार विद्यालयको बालविकास कक्षाका लागि आवश्यक सामग्री हस्तान्तरण गरिएको हो। विद्यालयमा आयोजित कार्यक्रममा नगर प्रमुख गोपाल हमाल, वडा अध्यक्ष भुवन रिजाल, शिक्षा महाशाखा प्रमुख घुम्मनसिंह बडायक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुरज परियार, प्रधानाध्यापक केशव सिंह भाट, शिक्षक, अभिभावक तथा स्थानीयवासीको उपस्थिति थियो।
उपमहानगरपालिकाले बालविकास कक्षाका विद्यार्थीहरूको लागि क, ख म्याट, पिफम, कुर्सी, टेबल, कार्पेट, एबीसी म्याट, अंक म्याट, जुत्ता–चप्पल राख्ने र्याक, सेतोपाटी, हर्स रकर, हेन रकर, डक रकर लगायतका खेल सामग्री उपलब्ध गराएको हो। सामग्रीहरू वडा अध्यक्ष भुवन रिजाल र शिक्षा महाशाखा प्रमुख घुम्मनसिंह बडायकले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुरज परियार र प्रधानाध्यापक केशव सिंह भाटलाई हस्तान्तरण गरेका हुन्।
कार्यक्रममा बोल्दै नगर प्रमुख हमालले चन्द्रोदय मावि ‘नमुना विद्यालय’ घोषणा गरेर आवश्यक लगानी गरे पनि शैक्षिक उपलब्धिमा अपेक्षित सुधार नआएकोप्रति असन्तुष्टि जनाए। उनले अभिभावक, शिक्षक र विद्यालय व्यवस्थापन समितिलाई विद्यार्थीको सिकाइ उपलब्धि र भर्ना संख्या बढाउन थप मेहनत गर्न आग्रह गरे। हमालले भने, “सामुदायिक विद्यालयमा आवश्यक सबै सहयोग गर्न उपमहानगर तयार छ, तर गुणस्तरमा सुधार र विद्यार्थी भर्ना दर भने बढ्नुपर्छ।” उनका अनुसार सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्न भौतिक पूर्वाधार र शिक्षकमा लगानी गर्न उपमहानगर तयार छ।
तर, आगामी शैक्षिक सत्रमा बालविकास कक्षा, कक्षा ८ र एसइईको नतिजामा सुधार नआए नमुना विद्यालयका सुविधा कटौती गरिने चेतावनी पनि उनले दिए। हाल विद्यालयको बालविकास कक्षामा जम्मा १० जना मात्र विद्यार्थी छन्। यो संख्या निकै कम भएको भन्दै हमालले असन्तुष्टि व्यक्त गर्दै भने, “आगामी वर्ष ५० जना बालबालिका भर्ना भए कक्षामा एसी जडान गर्ने र शिक्षक संख्या समेत बढाउनेछौं।”
वडा अध्यक्ष भुवन रिजाल र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुरज परियारले पनि विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि अभिभावक र शिक्षकहरूसँग मिलेर प्रयास गर्ने प्रतिबद्धता जनाए।