सम्झनाको न्याय माग गर्दै विद्यार्थीहरुद्वारा प्रहरी कार्यालय अगाडी प्रदर्शन

कञ्चनपुर: घरभित्रै झुण्डिएर आत्महत्या गरेकी बेलडाँडी गाउँपालिका २ की सम्झना भट्टलाई न्याय माग गर्दै विद्यार्थीहरुले प्रहरी कार्यालय अगाडी प्रदर्शन गरेका छन्।
आइतबार १७ वर्षिया भट्ट बेलडाँडी २ सिहपाल टोलस्थित घरभित्रै झुण्डिएको अवस्थामा मृत भेटिएकी थिइन्। उनी लिटिल बुद्ध एकेडेमीमा कक्षा १२ मा अध्ययनरत थिइन्। विद्यालयका विद्यार्थीहरुले विहान जिल्ला प्रहरी कार्यालय अगाडि सडकमा सम्झनालाई न्याउ देउ भन्दै नाराबाजी गरी प्रदर्शन गरेका छन्।
सम्झनाको तस्बिर सहित सम्झनालाई न्याय दे भन्ने लेखिएको ब्यानर बोकेर उनीहरुले नाराबाजी गरे। प्रहरी कार्यालयपछि उनीहरुले प्रशासन कार्यालयमा पनि सम्झनालाई न्याय मागेका छन्। भीमदत्त नगरपालिका ६ ऐठपुर माइती भएकी उनको बेलडाँडीका पवन भट्टसंग गत फागुनमा प्रेम विवाह भएको थियो। भट्ट अमिटी कलेजका विद्यार्थी हुन् ।

अहिले सम्झनाका पति पवन सहितका सासु र ससुरा आत्महत्या दुरुत्साहन मुद्दामा अनुसन्धानका लागि प्रहरी हिरासतमा छन्। सम्झनाका माइतीले भट्ट विरुद्ध प्रहरी कार्यालयमा जाहेरी दिएको छ। आत्महत्या दुरुत्साहनमा अनुसन्धानका लागि मृतकका श्रीमान्सहित सासू ससुरालाई अदालतबाट म्याद थप गरी हिरासतमा राखेर अनुसन्धान प्रक्रिया अगाडि बढाएको जिल्ला प्रहरी कर्याालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक सागर बोहराले बताए। सम्झना झुण्डिएइको भेटिएको दिन उनका श्रीमान् पवनलाई पक्राउ गरएको थियो। त्यसपछि उनका सासु र ससुरालाई पनि पक्राउ गरिएको छ।

उनका माइती पक्षले श्रीमान् तथा परिवारका सदस्यहरूले घरेलु हिंसा गर्ने, दाइजोको निहुँमा यातना दिने र मानसिक तनाव दिने गरेको आरोप लगाएका छन् ।सोही कारण सम्झनाले आत्महत्याको बाटो रोजेको उनीहरुको आरोप छ। मृतकको शव परीक्षणका लागि महाकाली प्रादेशिक अस्पतालमा राखिएको छ।

