विपदबाट प्रभावित दार्चुलाका तीन सय भन्दा बढी घर पुनर्निर्माण

दार्चुलाः सरकारले मनसुनजन्य विपदबाट प्रभावित दार्चुलाका तीन सय १६ घर पुनर्निर्माण गरिदिएको छ।
विपद् प्रभावित निजी आवास प्रबलीकरण, पुनर्निर्माण तथा पुनःस्थापना अनुदान कार्यक्रममार्फत यहाँका छ स्थानीय तहका तीन सय १६ घरधुरीको पुनर्निर्माण गरेको छ भने १२ घरधुरी पुनःस्थापना गरिएको जिल्ला प्रशासन कार्यालय दार्चुलाको विपद फाँट प्रमुख नायब सब्बा रामराज पन्तले जानकारी दिए।
नेपाल सरकार अन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको ५० प्रतिशत, प्रदेश सरकारको ३० प्रतिशत र सम्बन्धित स्थानीय तहको २० प्रतिशत बजेटमा विपद् प्रभावित घरहरुको पुनर्निर्माण र पुनःस्थापना गरिएको उनले बताए।

आर्थिक वर्ष २०७७/७८ देखि यो कार्यक्रम देशैभरी लागू भएको उनले जानकारी दिए। दार्चुलामा कार्यक्रममार्फत आव २०७७/७८ मा ३६ जनाको घर पुनर्निर्माण र १५ जनालाई पुनःस्थापना गरिएको छ। आव २०७८/७९ मा तीन सय १६ जनाको घर पुनर्निर्माण र १२ जनाको घर पुनःस्थापना गरिएको उनले बताए। आव २०७९/८० र २०८०/८१ मा एक सय जनाको घर पुनर्निर्माण गरिएको छ।
यो अवधीमा नौगाड गाउँपालिकाका २६ र दुहुँ गाउँपालिकाका १९ जनाको घर पुनर्निर्माण र पुनःस्थापना गरीएको बताइएको छ । आव २०७७/७८ का ५१ जनामध्ये ५० जनाको घर पुनर्निर्माण र पुनःस्थापना वापत प्रथम, दोस्रो र तेस्रो किस्ता गरी तीन करोड २० लाख रुपियाँ भुक्तानी गरिएको छ भने एक जनालाई दोस्रो किस्ता वाफत दुई लाख ४५ हजार रुपियाँ भुक्तानी गरिएको उनले बताए।

आव २०७८/७९ देखि यताका लाभग्राहीलाई घर पुनर्निर्माण पुनःस्थापना वाफत कार्यसम्पन्नताका आधारमा प्रथम, दोस्रो र तेस्रो किस्ता वापतको रकम भुक्तानी भइरहेको उनले जानकारी दिए। जिल्लाका स्थानीय तहबाट कायम भएका लाभग्राहीहरुलाई घर पुनर्निर्माण लागि आठ लाख पचास हजार र पुनःस्थापनाका लागि पाँच लाख पचास हजार रुपियाँ उपलब्ध गराउँदै आइरहेको छ।
विपद प्रभावित निजी आवास प्रबलीकरण, पुनर्निर्माण तथा पुनःस्थापना अनुदान कार्यक्रममार्फत यहाँको नौगाड गाउँपालिकामा आठ घर पुनर्निर्माण र एक घरको पुनःस्थापना गरिएको छ। यस्तै महाकाली नगरपालिकामा २५ घर, ब्याँस गाउँपालिकामा १८ घरको पुनर्निर्माण गरिएको उनले बताए। जिल्लाको दुहुँ गाउँपालिकामा दुई सय ५९ घर पुनर्निर्माण, ७ पुनःस्थापना, मालिकार्जुन गाउँपालिकामा चार घर पुनर्निर्माण, दुई पुनःस्थापना र मार्मा गाउँपालिकामा दुई घर पुनर्निर्माण र २ पुनःस्थापना गरीएको उनले जानकारी दिए।

