सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रहरीले रातको १० नबज्दै बजार सुनसान पार्दा धनगढीमा शृङखलाबद्ध चोरी बढ्यो

२०७६ साउन ७, १२:१४ रोशन भट्ट

हप्ता असुलीमै केन्द्रीत भएको आरोप खेप्दै आएको नेपाल प्रहरीकै गैर जिम्मेवार भुमिकाका कारण धनगढीमा शृङखलाबद्ध चोरीका घटना बढेको आशंका गरिएको छ। रातीको समयमा प्रहरी सक्रियता घट्दै गएपछि अपराधिक गतिविधीले बढावा पाएको आशंका गरिएको हो। प्रहरीले अहिले १० नबज्दै बजार सुनसान पार्दै डिउटी नगरी रात बिताउन थालेपछि चोरीमा संलग्न गिरोहले प्रशय पाउदै गएको छ भने १० बजे पछि बजार नै बन्द हुदा राती धनगढी पुग्ने व्यक्तिले बास नपाउने समस्या पनि रहेको छ।

शान्ति सुरक्षाको जिम्मा पाएको नेपाल प्रहरीको ध्यान अनावश्यक विषयमा केन्द्रीत हुँदा अपराधिक गतिविधी बढ्दै गएको आशंका यस क्षेत्रका नागरिकले गरेका छन्। धनगढीमा अपराधिक गतिविधी बढ्नुको कारण प्रहरीको हप्ता असुलीसंगै रातीको १० नबज्दै बजार बन्द गराएर डिउटी नगरी बस्ने लगायतका कुरा रहेको बताईदै आएको छ। विशेष गरी प्रहरीले अहिले होटेलहरुलाई केन्द्रीत गरी १० बज्ने वित्तिकै बन्द गराउन थालेपछि एकातिर अपराधिक क्रियाकलापहरु बढिरहेका छन भने अर्को तिर व्यापार घाटा भईरहेको गुनासो धनगढीका होटेल व्यवसायी प्रकाश जोशीको छ।

प्रहरीले आफ्नो सजिलोका लागि चाडै बजार बन्द गराउने गरेको आरोप लागेको छ। प्रदेशकै प्रमुख व्यापारीक केन्द्र सिमेत रहेको धनगढीमा छिमेकी मुलक भारतबाट समेत सामान खरिद विक्र गर्न  तथा घुम्नको लागि नागरिकहरु आउने गरेको भएपनि प्रहरीले आफ्नो सजिलोका लागि बजार बन्द गर्ने गरेको आरोप लागेको हो। १० नबज्दै सिट्टी बजाएर बजार बन्द गरि प्रहरी हाईसन्चोका साथ वस्ने गरेका कारण अपराधिक क्रियाकलापको संख्यामा बृद्धि भएको आशंका गरिएको छ।

सुनसान बजारमा प्रहरीले डिउटी समेत नगर्ने गर्दा अपराधिक मानसिकता भएको व्यक्तिले मौका पाउने हुँदा चोरीका घटना बृद्धि भएको   होटल व्यवसायी संघ कैलालीका अध्यक्ष कलम बम बताउँछन्। १० बजे नै बजार बन्द भएपछि नागरिकको आवातजावात कम हुने गरेको भएपनि प्रहरीको सक्रियाता बढ्न नसके पछि अपराधिक क्रियाकलाप बढ्ने गरेको जानकारहरुले बताएका छन्। कतिपय पूर्व प्रहरी अधिकारीहरुले समेत राती १० बजेपछि बजार बन्द गराउनु अपराध नियन्ण्त्रको उपाय नभएको टिप्पणी गरेका छन्।

मानिसको आउजाउ नभएको अवस्थामा प्रहरीले समेत डिउटी नगरे पछि अपराधिक मानसिकता बोकेका व्यक्तिले मौका मिल्ने हुँदा रातीको समयमा कडा सुरक्षा निगरानी गर्न आवश्यक रहेको नेपाल प्रहरीका पुर्व एआईजी जय बहादुर चन्दले बताउँछन्। यता जिल्ला प्रहरी कार्यालयले भने चाडै बजार बन्द गरेका कारण अपराधिक क्रियाकलापमा कमी आएको दावी गरेको छ। तर गेटको ताल्चा तोडेर, झ्यालको जाली काटेर साईकल, मोटरसाईक लगायत अन्य सामाग्रीहरु चोरी भएका घटनाहरु दिनप्रति दिन सार्वजनिक भईरहेका छन्। प्रहरीको गस्ती २४ घण्टानै हुने गरेको भएपनि अपराध नियन्त्रणमा नागरिकले समेत सहयोग नगर्ने गरेको आरोप कैलालीका निमित्त प्रमुख तथा प्रहरी नायव उपरिक्षक दक्षकुमार वस्नेतको छ।
 
 

 
 

रोशन भट्ट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस