सुदूर नेपाललाई विश्वसँग जोड्दै

डाक्टरको लापरबाहिले बिरामीको मृत्यु भएको भन्दै आफन्तद्धारा विरोध, कोशी राजमार्ग अबरुद्ध

। फोटो स्रोत ।
२०७६ साउन ६, ०१:३४

नोबेल मेडिकल कलेज विराटनगरमा उपचारका क्रममा विरामीको मृत्यु भएपछि मृतकका आफन्तले कोशी राजमार्ग अवरुद्ध गरेका छन्। शुक्रबार घुँडाको शल्यक्रिया गर्न नोबल मेडिकल कलेजमा भर्ना भएका सुनसरी दुहबीका ५१ वर्षका अनिलकुमार साहको आइतबार मृत्यु भएपछि मृतकका आफन्त तथा स्थानीयबासीले कोशी राजमार्गको दुहबी खण्ड अवरुद्ध गरेका हुन्।

उपचारमा संलग्न चिकित्सकलाई कारवाही गर्नुपर्ने र मृतक परिवारलाई क्षतिपूर्ति दिनुपर्ने माग गर्दै सोमबार बिहान ८ बजेदेखि कोशी राजमार्गको दुहबी खण्ड अवरुद्ध गरेका हुन्। प्रदर्शनका कारण सवारी साधन चलेका छैनन्। मृतकका भाइ प्रदीप साहका अनुसार अस्पतालले उपचारमा संलग्न चिकित्सकलाई कारबाही गर्नुपर्ने र मृतकका परिवारलाई क्षतिपूर्ति दिनुपर्ने माग राखेर चक्काजाम गरिएको हो।

आइतबार अस्पतालमा प्रदर्शन भएपछि अस्पताल प्रशासनले छलफलमा बोलाएर दुई लाख रुपैयाँ राहत दिने बताएको थियो। तर मृतकका आफन्तले मृतक परिवारका सन्तानलाई राजेगारीको ग्यारेन्टी र चिकित्सकलाई कारवाहीको माग गरेका छन्। अस्पतालले बार्तामा नबोलाए सम्म चक्काजाम जारी राख्ने प्रदीपले बताए। देब्रे घुँडाको सामान्य शल्यक्रिया गर्दा बिरामीको मृत्यु भएपछि आइतबार अस्पतालमा प्रदर्शन गरेका आफन्तले शवसमेत उठाएका छैनन्। एशियन थाइ फुड्समा कार्यरत साह मोटरसाइकलको स्ट्याण्ड लगाउने क्रममा लडेर घाइते भएका थिए।

उपचारका लागि नोबेल मेडिकल कलेजमा शुक्रबार भर्ना भएका उनको सोही दिन घुँडाको शल्यक्रिया भएको थियो। हाडजोर्नी तथा नशारोग विशेषयज्ञ डा. सन्दीप अधिकारीसहितको टोलीले शल्यक्रिया गरेको थियो।
नोबेल मेडिकल कलेजका प्रशासकीय अधिकृत नारायण दाहालले उपचारको क्रममा अस्पतालले कुनै लापारबाही नगरेको बताउँछन्। शल्यक्रिया पछि बिरामीलाई ‘हर्टअट्याक’ भएको बताउँदै उनले लापरवाही नभएको बताए।
 

कमेन्ट लोड गर्नुस