सुदूर नेपाललाई विश्वसँग जोड्दै

खेलकुदमन्त्री चौधरीद्वारा एक वर्षको प्रगति सार्वजनिक

२०८२ साउन १६, ०३:५४ खबर संवाददाता

काठमाण्डौः युवा तथा खेलकुद मन्त्रालयले चालू आर्थिक वर्षमा सातै प्रदेशमा युवाका लागि सीप मेला र विकास तालिम सञ्चालन गर्ने भएको छ।

मन्त्री तेजुलाल चौधरीले आफूले एक वर्षमा गरेका काम, प्रगति र अबको रणनीति सार्वजनिक गर्दै यस वर्ष युवाका लागि सीप मेला र विकास तालिम सञ्चालन गर्ने बताएका छन्।  उनका अनुसार सरकारले भक्तपुरमा ५० हजार सिट क्षमताको फुटबल रङ्गशाला निर्माण कार्य अघि बढाएको छ। अन्तर्राष्ट्रिय स्तरको भलिबल कभर्डहल निर्माणका लागि काठमाण्डौ उपत्यकाभित्र जग्गा प्राप्तिको काम भइरहेको मन्त्री चौधरीले जानकारी दिए। 

सरकारले दोलखा, मुस्ताङ, जुम्ला र सोलुखुम्बुमा हाई अल्टिच्युड ट्रेनिङ सेन्टर निर्माण कार्य पनि अघि बढाएको छ । मन्त्री चौधरीले नेपाल खेलकुद विज्ञान प्रतिष्ठानको कार्यविधि २०८२ को मस्यौदा तयारी भएको बताए।

युवा तथा साना व्यवसायी स्वरोजगार कोषबाट सहकारी संस्थामार्फत युवालाई स्वरोजगार बनाउन प्रवाह गरिएको ऋणमध्ये असूल गर्न बाँकी रहेको एक अर्ब ३१ करोड १४ लाख रुपैयाँ गएको आर्थिक वर्षमा असूल गरेको उनले जानकारी दिए। 

मन्त्री चौधरीका अनुसार गएको आर्थिक वर्षमा मन्त्रालयको पूँजीगततर्फ ५१ करोड ८८ लाख ३५ हजार विनियोजित बजेटमध्ये ३८ करोड ६० लाख ९८ हजार रुपैयाँ खर्च भएको छ। मन्त्रालयले गएको आर्थिक वर्षमा ७४ दशमलव ४२ प्रतिशत वित्तीय प्रगति गरेको छ।
 

कमेन्ट लोड गर्नुस