सुदूरपश्चिम विश्वविद्यालयमा विद्यार्थीहरूको बिचमा झडप

कञ्चनपुर : स्ववियु निर्वाचनका विषयमा विवाद हुँदा सुदूरपश्चिम विश्वविद्यालयमा विद्यार्थीहरुबिच झडप भएको छ।
स्ववियू निर्वाचन सम्बन्धी संशोधित नियमावली खारेज हुनुपर्ने भन्दै स्वतन्त्र विद्यार्थीहरूले लगाएको ताला तोडिएपछि झडपको अवस्था सृजना भएको हो।
स्वतन्त्र विद्यार्थीहरूले संशोधित नियमावली खारेज, निर्वाचन प्रक्रिया समावेशी र निष्पक्ष हुनुपर्ने र निर्वाचन अधिकृत परिवर्तन गर्नुपर्ने भन्दै स्वतन्त्र विद्यार्थीहरूले सोमवार निर्वाचन कार्यालयमा ताला लगाएका थिए। मंगलबार बिहान उक्त ताला तोडिएपछि विवाद भएको हो।
साउन १४ गते सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा स्ववियू निर्वाचनको मिति तोकिएको छ। सोही अनुसार मंगलबार मनोनयनको मिति तय गरिएको थियो । अनेरास्ववियू क्रान्तिकारीका विद्यार्थीहरु मनोनयनका लागि निर्वाचन अधिकृतको कार्यालयमा पुग्दा झडपको अवस्था सृजना भएको हो।

झडपमा ३ जना विद्यार्थी घाइते भएका छन्। झडपको अवस्था सृजना भएपछि प्रहरीले लाठी चार्जसमेत गरेको छ। घटनापछि नेविसंघले निर्वाचन अधिकृतको कार्यालयमा ताला लगाएको छ। मनोनयन प्रक्रिया झनै अनिश्चित बनेको छ।


नियमावली अनुसार विद्यार्थीको अध्ययन सकिएसँगै स्ववियूको कार्यकाल पनि सकिने व्यवस्था थियो। तर अहिले संशोधन गरिएको नियमावलीमा भने अध्ययन सकिएपनि स्ववियूको कार्यकाल भने निर्धारित समयमै सकिने व्यवस्था गरिएको छ। जुन २०८१ फागुनमा विश्वविद्यालयको सिनेटले संशोधन गरेको हो।
अनेरास्ववियू क्रान्तिकारीका गणेश मिश्राले स्वतन्त्र विद्यार्थीका नाममा नेविसंघले चुनाव भाँड्न खोजेको आरोप लगाएको छ। उनले विगतमा पनि नेविसंघले नै निर्वाचन भाँडेको आरोप लगाए।
अनेरास्ववियूले बिना कारण तालाबन्दी गरेर विद्यार्थीले प्रतिनिधि छान्ने अधिकार कुण्ठित गरेको आरोप लगाएको छ। मनोनयन दर्ताका दिन सरोकारवालाको सहमतिमै ताला तोडेर निर्वाचन प्रक्रिया अघि बढिरहेकै बेला नेविसंघ र अखिल क्रान्तिकारीले चुनाव भाँड्ने मनसायले एक आपसमा झडप गरी विश्वविद्यालयको चुनाव हुने वातावरण खल्बल्याउने काम गरेको भन्दै अनेरास्ववियू कञ्चनपुरका जिल्ला अध्यक्ष अमरबहादुर धामीले विज्ञप्ति निकालेका छन्।
नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य इन्द्र साउँदले विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा प्रशासनसँग छलफलमा बसिरहेका बेला क्रान्तिकारीका विद्यार्थीले पेट्रोल छर्केपछि झडप भएको बताए। उनले प्रहरीले समेत नेविसंघका विद्यार्थीलाई छानीछानी कुटपिट गरेको आरोप लगाए।
निर्वाचन अधिकृत कर्णदेव भट्टका अनुसार नियमावली तत्काल संशोधन भएको नभइ गत वर्ष नै विश्वविद्यालयको सिनेटले गरेको हो। विद्यार्थी संगठन र १५ वटा आंगिक क्याम्पसका स्ववियू सभापतिको आग्रहमा संशोधन गरिएको उनले बताए।
निर्वाचन अधिकृत भट्टले तत्कालका लागि मनोनयन प्रक्रिया अर्को निर्णय नभएसम्मका लागि स्थगित भएको छ। ताला लगाउने विद्यार्थीसँग छलफल गरेर ताला खोलिएपछि अन्य विद्यार्थी संगठनहरुसँग पनि छलफल गरिने र त्यसपछि मनोनयनको कार्यतालिका सार्वजनिक गरिने उनले बताए।