कैलालीको भजनीमा घरबाट पैसा सङ्कलन गरेर जैविक तटबन्ध
धनगढी : कैलालीको भजनी नगरपालिका–४ झलझलियाका स्थानीयले घरबाट पैसा सङ्कलन गरेर नदीमा जैविक तटबन्ध बनाएका छन्।
नदी कटान नियन्त्रणका लागि गरेको याचना कुनै पनि तहको सरकारले नसुनेपछि उनीहरूले प्रत्येक घरबाट रकम सङ्कलन गरेर कान्द्रा नदीमा जैविक तटबन्ध बनाएका हुन्। उनीहरूले बाँस, बोरा र झारपात प्रयोग गरेर तटबन्ध बनाएका छन्।
स्थानीय, प्रदेश र सङ्घ सरकारले माग सुनुवाइ नगरेपछि प्रत्येक घरधुरीबाट पैसा सङ्कलन गरेर तटबन्ध निर्माण गरेको झलझलियाका भलमनसा भरत चौलागाइँले बताए। बाँस खरिदका लागि प्रत्येक घ।बाट एक सयको दरले रकम सङ्कलन गरेको उनले बताए। जैविक तटबन्ध निर्माणका लागि पाँच टोल विकास संस्थाबाट रकम हालिएको छ। त्यस्तै, गाउँभरिका गरेर करिब चार सय जनाले श्रमदान गरेका छन्।
खेती जोगाउनका लागि तटबन्ध आवश्यक रहेको स्थानीय पदम सुनारले बताए। उनले नदीले गर्दै आएको क्षति रोक्नका लागि गाउँवासी आफैँले जुर्मुराएर तटबन्ध गरिरहेको उल्लेख गरेका छन्।
कैलालीमा भजनी सबैभन्दा बढी विपद्ग्रस्त पालिका हो। यो पालिकाका स्थानीयले बर्सेनि बाढी, डुबान, कटान समस्या झेल्दै आएका छन्। कान्द्रा नदीलेमात्रै हरेक वर्ष ठुलो क्षति गर्ने गरेको वडा अध्यक्ष जनताराम चौधरीले बताए। उनले भने, “यो नदीले धेरै क्षति गर्दै आएको छ। एकातिर तटबन्ध ग¥यो, अर्कोतिर जमिन कटान गर्न थाल्छ। जता सोझियो, उतै क्षति गर्छ।”
वडा अध्यक्ष चौधरी स्थानीयले जैविक तटबन्ध बनाउनका लागि प्रत्येक घरधुरीबाट पैसा उठाएपछि आफूले पनि व्यक्तिगत रूपमा सहयोग गरेको बताए। उनले पाँच÷दस लाख बजेटको तटबन्धले समस्या समाधान नहुने भन्दै कान्द्रा नदीको कटान नियन्त्रणका लागि ठुलै बजेटको आवश्यकता पर्ने बताएका छन्।
जैविक तटबन्ध गर्नका लागि जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयले पाँच हजार बोरा सहयोग गरेको जनाइएको छ। स्थानीयले बोरामा बालुवा भरेर कटान नियन्त्रणका लागि राख्ने काम गरिरहेका छन्।