सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपाल लाइफमा धनगढीका मदन भट्ट लगातार चौथो पटक नेपाल टप

२०८२ साउन २, ०३:२७ खबर संवाददाता

धनगढीः कैलालीको धनगढीका मदन भट्टले नेपाली जीवन बीमा क्षेत्रमा बिरलै देखिने ऐतिहासिक सफलता हात पार्न सफल भएका छन्।

नेपाल लाइफ इन्स्योरेन्समार्फत व्यवसाय गर्दै आएका भट्टले लगातार चौथो पटक “नेपाल टप” बन्ने कीर्तिमान राखेका छन्।

भट्टले यसअघि पनि पाँच पटकसम्म “नेपाल टप” बन्न सफल भइसकेका छन्। पहिलोपटक सन् २०१२ मा उनले नेपाल टपको उपाधि जितेका थिए भने पछिल्ला चार वर्षदेखि लगातार सर्वोत्कृष्ट बन्ने कीर्तिमान कायम गर्दै आइरहेका छन्।

दोहोरो कीर्तिमान : व्यक्तिगत र टिम दुवैमा उत्कृष्टता

भट्टले यस वर्ष जीवन बीमा क्षेत्रमा अर्को कीर्तिमान थपेका छन्। उनले व्यक्तिगत कोडबाट पाँच करोडभन्दा बढीको व्यवसाय गरेका छन् भने टिमतर्फ १० करोडभन्दा बढी बीमा व्यवसाय गरेर सर्वोत्कृष्ट टिम लिडर बनेका छन्। यससँगै उनले एकै साथ व्यक्तिगत र टिम दुवैतर्फ उत्कृष्ट बन्ने दुर्लभ सफलता हात पारेका हुन्।

दुई दशकको अनुभव, सेवा भावले सफलता

झण्डै दुई दशकदेखि जीवन बीमा क्षेत्रमा सक्रिय भट्टले एलआईसी नेपालबाट आफ्नो करियर सुरु गरेका थिए। सन् २००७ मा एलआईसी नेपालमै उत्कृष्ट बन्न सफल उनी पछि नेपाल लाइफमा सन् २०१२, २०२२, २०२३ र २०२४ मा नेपाल टपर बनेका हुन्।

धनगढीमा बसेरै जीवन बीमा व्यवसायमा आफ्नो छुट्टै पहिचान बनाएका भट्टसँग व्यावसायिक रूपमा कुनै कमी छैन। उनी धनगढी र आसपासका क्षेत्रमा क्रन्जी चिकेन चेन रेस्टुरेन्ट पनि सञ्चालन गर्दै आएका छन्।

उनले भने, “म आर्थिक रूपमा सफल छु, तर बीमामार्फत जोखिम हस्तान्तरण र जनताको सेवामा निरन्तर सक्रिय रहनु नै मेरो मुख्य उद्देश्य हो।”

भट्टले आफ्नो सफलता सम्पूर्ण बिमित, कम्पनी व्यवस्थापन र सहयोगीहरूलाई समर्पित गर्दै धन्यवाद व्यक्त गरेका छन्।

 

कमेन्ट लोड गर्नुस