बोगटान फुड्सिल गाउँपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न
डोटी: बोगटान फुड्सिल गाउँपालिकाको आर्थिक वर्ष २०८१/८२ को सार्वजनिक सुनुवाइ सम्पन्न भएको छ।
गाउँपालिकामा वर्षभरि सञ्चालन भएका योजना तथा कार्यक्रम र आय व्ययको सार्वजनिक सुनुवाइ सम्पन्न भएको हो। आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन गाउँपालिकाका लेखा प्रमुख मीनबहादुर चन्दले प्रस्तुत गरेका थिए।
सार्वजनिक सुनुवाइ कार्यक्रममा स्वागत मन्तव्य गाउँपालिकाका उपाध्यक्ष बिष्ना देवी बमले गरेकी थिइन्।
स्वागतका क्रममा उनले आव २०८१/८२ मा अति अशक्तहरूलाई घरमै गएर अपाङ्गता परिचय पत्र उपलब्ध गराइएको बताइन्। नागरिकले सहज रूपले सेवा पाउन भनेर घरदैलोमा गएर परिचयपत्र वितरण गरिएको र पालिका कार्यालयमै आएर परिचय लिनेहरूलाई प्रावधान अनुसार परिचयपत्र वितरण भइरहेको बताइन्।
गाउँपालिकाका अध्यक्ष कमल बहादुर गड्सिलाले बोगटान फुड्सिल गाउँपालिका अझै विकट गाउँपालिकाको रूपमा रहेको बताएका छन्। हाल सम्म पनि गाउँपालिकामा पक्की सडक नभएको तथा राष्ट्रिय प्रसारण लाइनको बिजुली पालिका भरि विस्तार नभइसकेकाले त्यसमा पालिकाले निरन्तर प्रयास गरिरहेको बताएका छन्।
आगामी वर्ष गगुडामा करिब ८ किलोमिटर सडक कालोपत्रे हुने र थप सडक कालोपत्रेका लागि पहल गरिने उनले बताए। ठेकेदारले इमानदारीताका साथ काम गरेमा एक वर्षभित्र राष्ट्रिय लाइनको बिद्युत् विस्तार हुने अध्यक्ष गड्सिलाले बताए। उनले सार्वजनिक सुनुवाइमा आउने प्रश्न, सल्लाह र सुझावले आफूहरूलाई आगामी योजना बनाउन सहयोग पुग्ने बताएका बताएका छन्। सार्वजनिक सुनुवाइ कार्यक्रमको सहजीकरण मुलुक कम्युनिकेसनले गरेको थियो।