सुदूर नेपाललाई विश्वसँग जोड्दै

चैनपुर–ताक्लाकोट सडक निर्माणमा ढिलाइ, निर्माण कम्पनीलाइ कारबाहीको माग

फाइल फोटो
फाइल फोटो
२०८२ असार २९, ०७:१८ खबर संवाददाता

बझाङ : चैनपुर–ताक्लाकोट सडक निर्माणमा ढिलाइ गरेको भन्दै साइपाल गाउँपालिकाले निर्माण कम्पनीलाई कारबाही गर्न माग गरेको छ।

बझाङको बहुप्रतीक्षित सडक आयोजनामा निर्माण कम्पनीले ढिलासुस्ती गरेको भन्दै कडा कारबाहीको माग गरेको हो। गाउँपालिकाले बझाङका प्रमुख जिल्ला अधिकारी कैलाश ठकुराठीलाई ज्ञापनपत्र बुझाउँदै निर्माण कार्य अविलम्ब अगाडि बढाउन, बक्यौता ज्याला उपलब्ध गराउन तथा ट्रयाक खोल्ने कार्यमा तीव्रता दिन आग्रह गरेको छ।

साइपाल गाउँपालिका उपाध्यक्ष डोल्मा तामाङले उक्त सडक त्रिदेशीय व्यापार तथा पर्यटन प्रवर्धन गर्ने लक्ष्यसहित सुरु गरिएको भए पनि निर्माण कार्य कछुवा गतिमा अघि बढिरहेको बताइन्। “सम्झौता भएको ६ वर्ष बितिसक्दा पनि कम्पनीले २० किलोमिटर हाराहारीको मात्र ट्र्याक खोलेको छ। कामदारलाई लामो समयदेखि पारिश्रमिक नदिइएको गुनासो पनि व्यापक छ,” उनले भनिन्।

ताक्लाकोट सडक बझाङवासीको मात्रै नभई सुदूरपश्चिम प्रदेशको आर्थिक समृद्धिको मेरुदण्डको रूपमा हेरिएको छ। तर, निर्माणमा भएको ढिलाइका कारण चीन सरकारबाट प्राप्त हुने अपेक्षित सहायतासमेत रोकिएको जनाइएको छ।

सडक निर्माणको जिम्मा पाएको स्वच्छन्द–नागार्जुन जेभीले २०७४ सालमा दुई वर्षभित्र काम सम्पन्न गर्ने सम्झौता गरेको भए पनि अहिलेसम्म बझाङ भागको १५५ किलोमिटरमध्ये करिब एक तिहाई मात्र ट्र्याक खोलिएको छ। कैलाली, अछाम, डोटी र बाजुरामा तुलनात्मक रूपमा काम अघि बढिसकेको भए पनि बझाङमा भने निर्माणकार्य निकै सुस्त भएको गाउँपालिकाले बताएको छ। साइपाल गाउँपालिकाको कुवा–जाडलेख क्षेत्रमा ट्रयाक नै नखुलेको, कविलास तथा मानसरोवर जाने यात्रुका लागि बाटोको सुविधा नभएको र उरै नाकालाई वैधानिक रूपमा विकास गर्न पहल नहुँदा स्थानीयवासी थप समस्यामा परेका छन्।

साइपाल गाउँपालिकाले पेस गरेको ज्ञापनपत्रमा प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस पार्टी सभापति तथा तत्कालीन प्रधानमन्त्रीहरू शेरबहादुर देउवा, डा. बाबुराम भट्टराई, पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत शीर्ष नेताहरूले सडक निर्माणलाई प्राथमिकतामा राख्ने आश्वासन दिएको स्मरण गराउँदै अझै कार्यान्वयन नभएको उल्लेख गरिएको छ।

गाउँपालिकाले निर्माण कम्पनीको गैरजिम्मेवारी रोक्न, मजदुरको बक्यौता ज्याला तुरुन्त उपलब्ध गराउन, ट्रयाक खोल्ने कार्य तीव्र बनाउन र उरै नाकालाई वैधानिक बनाउनेतर्फ सम्बन्धित निकायको ध्यानाकर्षण गराइएको छ। गाउँपालिकाले झन्डै साढे तीन दशकदेखि सपना बनेको यो सडक अब सपना मात्रै नरहोस् भन्ने चाहना व्यक्त गर्दै समयमै निर्माण सम्पन्न गर्न आग्रह गरेको हो।

 

कमेन्ट लोड गर्नुस