सुदूर नेपाललाई विश्वसँग जोड्दै

दूधमा आत्मनिर्भर बनाउन डोटीका किसानलाई उन्नतजातका गाई र भैँसी वितरण

। फोटो स्रोत ।
२०७६ साउन ३, ०६:१०

डोटीमा दुधमा आत्मनिर्भर बनाउन उन्नतजातका गाई भैँसी वितरण गरिएको छ। डोटीको सिलगढी नगरपालिकाले किसानलाई आयआर्जनमा जोड दिन उन्नतजातका गाई र भैँसी वितरण गरेको हो। पूरै नगरपालिकालाई दूधमा आत्मनिर्भर बनाउन र किसानको आयस्तर वृद्धि होस् भन्ने उद्देश्यले पूर्ण अनुदानमा उन्नतजातका गाई र भैंसी वितरण गरिएको नगरपालिकाप्रमुख मञ्जु मलासीले जानकारी दिइन्।

नगरपालिकाका वडा नं ५, ६ र ७ का १३ किसानलाई जर्सी, होलिस्टिन र रेडसिन्धी जातका गाई वितरण गरेको नगरपालिकाका पशु सेवा प्राविधिक डिलबहादुर साउदले जानकारी दिए। आर्थिक वर्ष २०७५÷७६ को कार्यक्रमअनुसार जम्मा २० किसानलाई उन्नत गाई वितरण गर्ने योजना रहेकामा वडा नं ४ का सात किसानलाई केही दिनभित्रै गाई वितरण गरिने जनाइएको छ।

यस्तै नगरपालिकाको वडा नं १ शिरखोलीसैनका आठ किसानलाई मुर्राक्रस जातका भैँसी पनि वितरण गरिएको पशु सेवा प्राविधिक साउदले बताए। सार्वजनिक सूचनामार्फत किसानबाट फाराम भर्न लगाई ती फारामउपर स्थलगत अनुगमन गरी किसान छनोट गरिएको नगरपालिकाले जनाएको छ। ढुवानीसहित रु १५ लाखमा २० गाई र रु सात लाख ६० हजारमा भैँसी खरीद गरी किसानलाई वितरण गरिएको नगरपालिकाको पशु सेवा शाखाले जनाएको छ।

आफूले विगत पाँच वर्षदेखि व्यावसायिकरूपमा गाईपालन गर्दै आएको र नगरपालिकाले थप दुई उन्नतजातका गाई उपलब्ध गराएको साम्भवी एग्रो प्रोडक्सन प्रालि दिपायलका सञ्चालक रवि श्रेष्ठ बताए। यसअघि नगरपालिकाले किसानलाई बाख्रा, बोयर बोका र कुखुरासमेत पूर्ण अनुदानमा वितरण गरिसकेको छ। रासस

कमेन्ट लोड गर्नुस