नेपाली काँग्रेस कैलालीका पूर्व सचिवसहितका नेताहरू कारबाहीमा
धनगढीः नेपाली काग्रेंसले निर्वाचनमा आफ्ना उमेदवारलाई असहयोग गरेको भन्दै नेता कार्यक्रताहरूलाई कार्बाही गरेको छ।
आमनिर्वाचन सकिएको साढे तीन वर्षपछि पार्टीका आधिकारिक उम्मेदवारलाई असहयोग र अन्तर्घात गरेको अभियोगमा काँग्रेसले डेढ दर्जन नेता, कार्यकर्तामाथि कारबाही गरेको हो। कारबाहीमा पर्नेमा प्रदेश समितिका महामन्त्रीदेखि पूर्वमन्त्रीसम्म छन्।
केन्द्रीय अनुशासन समितिको मिति यही असार ९ देखि १७ गतेसम्म बसेको बैठकले गरेका निर्णय निर्णय बुधवार सार्वजनिक गरिएको छ। अनुशासन आयोगका संयोजक आनन्दप्रसाद ढुंगानाले पार्टीका उम्मेदवारलाई हराउन सामाजिक सञ्जाल, अडियो–भिडियोलगायत प्रमाणलाई आधार मानेर संलग्न नेता, कार्यकर्तालाई निष्कासन निलम्बन गर्ने निर्णय गरिएको विज्ञप्तिमार्फत जनाएका छन्।
निर्वाचनमा आफ्नो पार्टीका उम्मेदवार हराउन भूमिका खेलेको भन्दै कैलालीमा छ जना नेता, कार्यकर्तालाई काँग्रेसले पार्टीबाट निष्कासन गरेको छ।
धनगढी उपमहानगरपालिका–२, का महाधिवेशन प्रतिनिधि भीमबहादुर शाह, कैलालीका निवर्तमान जिल्ला सचिव पूर्ण कुँवर, धनगढी–१, का पूर्वमहासमिति सदस्य आनन्दराज जोशी, धनगढी–२, का क्षेत्रीय प्रतिनिधि रविन्द्रप्रताप सिंह पार्टीको कारबाहीमा परेका छन्। त्यस्तै काँग्रेसका क्रियाशील सदस्य लेखराज ओझा, धनगढी–१ का क्रियाशील सदस्य सुभाष चन्द, धनगढी–५, का पूर्वमहाधिवेशन प्रतिनिधि बब्लुकुमार चौधरीलाई काँग्रेसले निस्कासन गरेको छ। उनीहरुलाई छ महिनाको लागि पार्टीबाट निस्कासन गरिएको जनाइएको छ।
कास्कीका पूर्वमन्त्री कुमार खड्का, लुम्बिनीका महामन्त्री बिक्रम खनाल, खोटाङको जिल्ला सभापति विष्णुकुमार राईलाई काँग्रेसले एक वर्षको लागि पार्टीबाट निस्कासन गरिएको छ। त्यस्तै कास्कीका पूर्वसभापति कृष्ण केसीलाई तीन महिनाका लागि निस्कासन गरिएको छ । त्यस्तै तेहथुमका महासमिति सदस्य तुलसी सुब्बा, पर्सा जिल्ला क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति अरविन्दकुमार गुप्तालाई कारबाही गरिएको छ। उनीहरुलाई एक वर्षका लागि पार्टी सदस्यसमेत नहुने गरी निष्कासन गरिएको विज्ञप्तिमा जनाइएको छ।
धनुषाको लक्ष्मीनीया गाउँपालिकाका सभापति आनन्द यादव, धनुषाकै सबैला नगरपालिकाका नगर सभापति खटरु यादव, धनुषाधाम नगरपालिका(१ का रामबाबु यादव र मुखियापट्टी मुसहरनियाका सभापति फुलगेन यादव र कास्की जिल्ला क्षेत्र नं.२ का क्षेत्रीय सहसचिव भावना श्रेष्ठ, छ महिनाका लागि पार्टीबाट हटाइएको छ।