कैलालीको डोंडा नदीमा चुरेको तटबन्धन

कैलालीः कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर–१ सुख्खडमा लामो समय डोंडा नदीले कटान गरी बस्ती जोखिममा पर्न थालेपछि तटबन्धन गरिएको छ।
राष्ट्रपति चुरे, तराई मधेस संरक्षण समिति कार्यक्रम कार्यान्वयन एकाइ लम्कीको सहयोगमा चेक ड्याम निर्माणसहित नदी तटबन्धन गरिएको हो। आर्थिक वर्ष २०८१–८२ मा डोडा खोला तटबन्ध व्यवस्थापन उपभोक्ता समितिले २३ लाख ४३ हजार ७२६ रुपियाँ लागतमा चेकड्याम निर्माण तथा तट्बन्धनका लागि नदी कटान क्षेत्रमा जाली लगाउने काम गरेको हो।

नदी कटानले घोडाघोडी बहुमुखी क्याम्पस, सुख्खड बजार, लोहरपुरको बस्ती समेत जोखिममा रहेको थियो। दुई लाख ४३ हजार ७२६ रुपियाँ उपभोक्ता समूहको श्रमदान तथा संरक्षण समितिको २० लाख ९९ लाख ९९९ रुपियाँ अनुदान सहयोगमा उक्त तटबन्धन निर्माण भएको हो। स्थानीय रणबहादुर बोहराले डोँडा नदीले धेरै क्षेत्र कटान गरेको जनाउँदै तट्बन्धनले कटान रोक्नलाई सहयोग गर्ने बताए। उनले डोंडा नदी कटान क्षेत्रमा अझ धेरै तटबन्धन गर्नुपर्ने आवश्यकता रहेको बताए।


