सुदूर नेपाललाई विश्वसँग जोड्दै

घोडाघोडी सुनचाँदी व्यवसायीको कर सच्याउन माग

२०८२ असार २०, ०४:०७ खबर संवाददाता

घोडाघोडी : आन्दोलनरत सुनचाँदी व्यवसायीले सरकारले दुई प्रतिशत विलासिता कर तथा रत्न र पत्थरमा लगाइएको १३ प्रतिशत भ्याट (मूल्य अभिवृद्धि कर) नहटाए आन्दोलनलाई थप कडाईका साथ अगाडी बढाउने घोषणा गरेकाछन्।

कैलालीको सुखडमा घोडाघोडी सुनचाँदी व्यवसायी संघले शुक्रवार पत्रकार सम्मेलन आयोजना गरी सरकारको गलत कर नीतिले नेपाली उपभोक्ताहरू सीमावर्ती भारतीय बजारमा जाने सम्भावना बढेकाले आर्थिक वर्ष २०८२÷८३ को बजेटमा लगाइएको कर सच्याउन माग गरेका हुन्।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका केन्द्रीय सदस्य गणेश सुनारले सरकारले विलासिता कर लगाएर नेपाली उपभोक्तामाथि अनावश्यक कर थोपरेको बताए।

केन्द्रीय सदस्य सुनारले व्यवसायीहरूको सुनमा लगाइएको २ प्रतिशत विलासिता कर र हिरा–रत्नमा लगाइएको १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) हटाउन माग रहेको बताए। साथै, सुनको भन्सार दर ६ प्रतिशतमै कायम गर्नुपर्ने माग पनि राखिएको छ।

सुन कुनै विलासिता वस्तु नभइ आवश्यक वस्तु रहेको उल्लेख गर्दै सुनको भन्सार दर छ प्रतिशतमै कायम गर्नुपर्ने घोडाघोडी सुनचाँदी व्यवसायी संघका अध्यक्ष दिनेशबहादुर सोवले बताए। आफूहरूले पसल बन्द गरेर विरोध प्रदर्शन मात्र गरिरहेको र माग पूरा नभए थप आन्दोलन गर्ने चेतावनी उनीहरूको छ।

सरकारले आर्थिक वर्ष २०८२/०८३ को बजेटमार्फत सबै मूल्यका सुन तथा गहनामा २ प्रतिशत विलासिता कर लागु गरेपछि देशभरका सुनचाँदी व्यवसायीहरू आन्दोलित भएका हुन्। अघिल्लो व्यवस्था अनुसार १० लाख रुपैयाँभन्दा माथिका गहनामा मात्र विलासिता कर लाग्ने गथ्र्यो, तर नयाँ बजेटले त्यो सीमा हटाएको छ। अब थोक कारोबारमा ढिक्का सुन बिक्री गर्दा पनि कर लाग्ने व्यवस्था भएपछि बजारमा अतिरिक्त करको भार परेको व्यवसायीहरूको भनाइ छ।

यसअघि ५ असारमा अल्टिमेटमसहित आन्दोलन स्थगित गरेका व्यवसायीले सरकारले माग सम्बोधन नगरेको भन्दै पुनः विरोधमा उत्रिएको बताएका छन्।

पत्रकार सम्मेलनमा नेपाल सुनचाँदी व्यवसायी संघ कैलालीका अध्यक्ष एवं संर्घस समिति संयोजक यदु सोव लगायत व्यवसायीहरूको सहभागी रहेको थियो।

 

कमेन्ट लोड गर्नुस