नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने

धनगढी: नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ।
नागरिक उन्मुक्तिबाट उद्योग पर्यटन वन तथा वातावरणमन्त्री रहेका रामेश्वर चौधरीलाई मुख्यमन्त्री कमलबहादुर शाहले बर्खास्त गरेपछि नागरिक उन्मुक्ति रुष्ट भएकाे हाे।

नागरिक उन्मुक्ति पार्टीकाे शुक्रवारर बसेको संसदीय दलको बैठकले सरकारलाई दिइएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। संसदीय दलका नेता घनश्याम चौधरीले संसदीय दलको बैठकको बहुमतको निर्णयबाट सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेकाे बताए।
सात जना प्रदेश सभा सदस्यहरू रहेको नागरिक उन्मुक्ति पार्टीको संसदीय दल बैठकमा चार जना सांसद उपस्थित थिए। घनश्याम चौधरी, टीका थापा, इन्दिरा गिरी र रामेश्वर चौधरी बैठकमा उपस्थित थिए भने कैलाश चौधरी, खुसीराम डगौरा थारु र लक्ष्मणकिशोर चौधरी बैठकमा अनुपस्थित थिए। कैलाश चौधरीले भने, ‘जे मन लाग्यो त्यही गरेर हुन्न, समर्थन फिर्ता लिने हो भने पनि पार्टीको स्पष्ट निर्णय आउनुपर्यो। अझ, सुरुमा त संघ सरकारमा रहेका अरुण चौधरीले पहिला राजिनामा दिनुपर्यो नि।’ यता दलका नेता चाैधरीले भाे सरकारलाई पत्र दिने तयारी भइरहेको बताए।
सुदूरपश्चिममा कांग्रेस नेतृत्वमा एमाले र नागरिक उन्मुक्ति पार्टीको संयुक्त सरकार छ। सुदूरपश्चिममा नागरिक उन्मुक्तिकाे भागमा वन मन्त्रालय छ।

