सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी बम बिस्फोटमा घाइते एक जनाको मृत्यु, विप्लव समूहको संलग्नता रहेको आशंका

२०७६ साउन ३, ०६:३२ खबर संवाददाता

धनगढीमा भएको बम बिस्फोट परि घाइते भएका पाँच जना मध्ये एक जनाको मृत्यु भएको छ। धनगढी उप–महानगरपालिका वडा नम्वर ४ को शहिद गेट नजिकै रहेको निलम होटलमा विहिवार साँझ बम विस्फोट हुँदा घाईते भएका पाँच जना मध्ये एक जनाको मृत्यु भएको हो। घटनामा घाईते भएका बझाङ जिल्लाको जयपृथ्वी नगरपालिका–१४ का रामबहादुर सिंहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्ष बस्नेतले बताए। बमको छर्राले उनको शरीरको ढाड, खुट्टाको मासुु बाहिर छुट्टिएको थियो। उनको धनगढी स्थित माया मेट्रो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायव उपरिक्षक बस्नेतले बताए।

अन्य घाईते होटल सञ्चालक केशवराज पाण्डे, कञ्चनपुरको बेलडाँडी घर भएका लक्ष्मण सेरेला, धनगढी उपमहानगरपालिका ४ का स्थानीय एंव अण्डा तथा कुखुरा व्यवसायी संघ कैलाली अध्यक्ष जितेन्द्र यादव, ग्यारेज सञ्चालन गर्दै आएका भारतीय नागरिक मोविन खानको अहिले पनि माया मेट्रो अस्पतालमै उपचार भईरहेको छ। सुरुमा सिलिण्डर पड्कीएको बताईएपनि सिलिण्डर नभएर बम भएको जिल्ला प्रहरी कार्यालय कैलालीले पुष्टि गरेको छ। 

प्रहरीले घटनामा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाको संलग्नता रहेको आशंका गरेको छ। नेकपा कैलालीका जिल्ला कमिटिले भने धनगढी विष्फोटको घटनामा नेकपाको कुनै संलग्नता नरहेको दाबी गरे। मृतक सिंहले टिफिन बक्समा फिट गरेको बम झोलामा राखेर पिठ्युमा बोक्दै घाईते सेरलासंग होटलमा आएको र भित्तामा ठोक्किएपछि बम बिस्फोट भएको प्रहरीले अनुमान गरेको छ। उनीहरु मोटरसाइकलमा आएको र खाजा खान होटलमा बसेका थिए। प्रहरीले घटना स्थलबाट एक थान पेस्तोल र एक थान से ७ प ३१४४ नम्बरको मोटरसाइकल पनि बरामद गरेको छ। घटनापछि धनगढीको सुरक्षा व्यवस्थामा कडाई गरिएको छ।

 

कमेन्ट लोड गर्नुस