सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा पनि ढुवानी ठप्प, अनलाईन निगरानीको निर्णय कर्यान्वयन नगर्न माग

२०७६ साउन २, ०६:३८ खबर संवाददाता

सरकारले देशभित्र व्यवसायिक मालसामानको ओसारपसारमा अनलाईन निगरानी थालेपछि सुदूरपश्चिममा पनि ढुवानी ठप्प भएको छ। व्यवसायीहरुले आफ्ना मालवाहक ट्रक घर र ग्यारेजमा थन्काएर ढुवानी सेवा ठप्प पारेका हुन्। सरकारले बजेट मार्फत ढुवानी व्यवसायलाई मूल्य अभिवृद्धि कर (भ्याट) तथा मालवाहक ट्रकलाई अनलाईन मार्फत निगरानी गर्न ल्याएको नीति नसच्याए सम्म मालवाहक गाडी सञ्चालन नगर्ने व्यवसायीहरुले बताएका छन्। 

सरकारले लागू गर्न खोजेको उक्त प्रणालीले यातायात तथा ढुवानी व्यवसायी नै चौपट हुने र व्यवसाय सञ्चालन गर्न नसकिने अवस्था आएको सेती महाकाली ट्रक व्यवसायी संघका अध्यक्ष चेतराज जोशीले बताए। सरकारले एकतर्फी रुपमा यो नीति लाद्न खोजको आरोप उनको छ। 

यस्तै कैलाली उद्योग वाणिज्य संघले पनि अनलाईन निगरानी तत्कालका लागि स्थगीत गर्न माग गरेको छ। अनलाईन प्रणाली मार्फतको निगरानी सकारात्मक भए पनि नेपालको हालको संरचना, उपलब्ध सूचना प्रविधि, दक्ष जनशक्ति अभावका कारणले लागू गर्न कठिन हुने भएकाले तत्कालका लागि स्थगीत गर्न माग गरेको हो। कैलालीका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञाप पत्र बुझाउँदै संघले यस्तो माग गरेको हो। 

कमेन्ट लोड गर्नुस