सुदूर नेपाललाई विश्वसँग जोड्दै

दूध उत्पादन गर्ने कृषकलाई सहकारीद्धारा प्रोत्साहन रकम वितरण

। फोटो स्रोत ।
२०७६ साउन २, ०५:५८

डुम्रे दुग्ध उत्पादक सहकारी संस्था पाल्पाले दूध उत्पादन गर्ने कृषकलाई प्रोत्साहन रकम वितरण गरेको छ। उत्पादनमा आधारित कृषक प्रोत्साहन कार्यक्रमअन्तर्गत सहकारीमा दूध बिक्री गर्ने पाँच सय कृषकलाई प्रोत्साहन रकम वितरण गरेको हो। आर्थिक वर्ष २०७५र०७६ मा सहकारीमा दूध बिक्री गर्ने कृषकलाई प्रतिलिटर एक रुपैयाँ ९२ पैसाका दरले रकम प्रदान गरिएको छ। 

दूध उत्पादनमा प्रोत्साहन गर्ने उद्देश्यले प्रदेश सरकारबाट प्राप्त रु १६ लाख ९० हजार ५८४ कृषकलाई प्रदान गरिएको सहकारीका व्यवस्थापक गोपाल जिसीले बताए। “वर्षभरिमा कृषकले सहकारीमा दूध बिक्री गरेका आधारमा प्रतिलिटर एक रुपैयाँ ९२ पैसा वितरण गरेका छौँ”, उनले भने। सहकारीले दुई वर्षदेखि यो कार्यक्रम सञ्चालन गरिरहेको छ। पहिलो वर्ष केन्द्रीय सरकारबाट रकम प्राप्त भएको थियो भने दोस्रो वर्ष प्रदेश सरकारको सहयोगमा कृषकलाई प्रोत्साहन रकम प्रदान गरिएको व्यवस्थापक जिसीले बताए। 

जिल्लामै कृषकबाट धेरै दूध खरीद गरी बिक्री गर्ने डुम्रे दुग्ध उत्पादक सहकारीमा दैनिक तीन हजार ५०० लिटर दूध सङ्कलन हुने गरेको छ। सङ्कलित दूधमध्ये एक हजार ८०० लिटर दूध पोखरामा बिक्रीका लागि लगिन्छ। सहकारीमा आबद्ध रहेकामध्ये ४१ वटा ठूला दुग्ध उत्पादक फार्म आधिकारिक रुपमा दर्ता भई सञ्चालनमा छन्। सहकारीमा आबद्ध रहेका कृषकले बढीमा ६५ वटासम्म दुधालु पशुपालन गरेर आम्दानीको स्रोत जुटाउँदै आइरहेका छन्। सहकारीले कृषकलाई मध्यनजर गर्दै १३ स्थानमा सङ्कलन केन्द्र स्थापना गरी दूध खरीद गर्ने गरेको छ। डुम्रे क्षेत्रमा तीन, तिनाऊ गाउँपालिका–३ को झुम्सामा एक, रिब्दिकोट गाउँपालिका–६ को ठिमुरेमा दुई, ४ को भैरवस्थानमा एक, माथागढी गाउँपालिका–२ दध्रामा एक र सोही गाउँपालिका–३ कसेनीको सराईमा एक वटा दूध सङ्कलन केन्द्र रहेको छ।

त्यस्तै तानसेन नगरपालिका–८ स्थित मदनपोखरामा दुई, ९ को बन्दिपोखराथोकमा एक, रिब्दिकोटको सोमरमा एक गरी १३ वटा सङ्कलन केन्द्रबाट कृषकको दूध खरीद गरी सहकारीले बजारसम्म पु¥याउने गरेको बजार व्यवस्थापक कृष्णप्रसाद भट्टराईले बताए। “कृषकलाई पायक पर्ने विभिन्न ठाउँमा सङ्कलन केन्द्र स्थापना गरिएपछि दूध खरीद–बिक्री गर्न सजिलो भएको छ, कृषकको सङ्ख्या पनि क्रमिक रुपमा बढ्दै गइरहेको छ”, उनले भने।

यस्तै कृषकको घरघरबाट दूध सङ्कलन गरी बजारसम्म पु¥याउन १७ जना कर्मचारी परिचालन गरिएको छ। गुणस्तर हेरी गाईको प्रतिलिटर ४५ देखि ५५ सम्म र भैँसीको ६० देखि ६५ सम्म कृषकबाट दूध खरीद गर्ने गरेको सहकारीले जनाएको छ। कृषकबाट खरीद गरेको गाईको दूध ७० र भैँसीको ८० सम्ममा बजारमा बिक्री भइरहेको छ। पाल्पाको निस्दी गाउँपालिकामा १५० वटा भकारो सुधार गरिएको छ। गाईभैँसीको भकारो सुधार गरी उन्नत जातका पशुपालन वृद्धि गराउन र स्वस्थ बाली उत्पादन गर्न भकारो सुधार गरिएको हो। गाई, भैँसीको उचित बसाइको व्यवस्थापनसँगै मूत्र सङ्कलनबाट जैविक मल तयार गरी स्वस्थ कृषि उत्पादनमा जोड दिने उद्देश्यले भकारो सुधार गरिएको छ।

आर्थिक वर्ष २०७५र७६ मा १००, आव ०७४र७५ मा ५० वटा गरी १५० घरमा भकारो सुधार गरिएपछि यहाँका कृषक स्वस्थ्य बाली उत्पादनतर्फ आकर्षित हुन थालेका छन्। गाउँपालिकाको भकारो सुधार कार्यक्रममार्फत ७५ प्रतिशत अनुदान र २५ प्रतिशत कृषकको लगानी गरी १२ हजार २०० को दरले भकारो सुधार गरिएको निस्दी गाउँपालिका पशु शाखा संयोजक ओमबहादुर मश्राङ्गीले बताए। “कृषकले व्यावसायिक पशुपालन गरे पनि भकारो व्यवस्थित नहुँदा आर्थिक लाभ लिन सकेका थिएनन्। भकारो सुधार गरेपछि अहिले व्यावसायिक पशुपालन तथा तरकारी उत्पादनतर्फ यहाँका कृषक अग्रसर हुँदै गएका छन्”, मश्राङ्गीले भने। गोठको व्यवस्थापन नमिल्दा लगानीअनुसारको कृषकले पशुपालनबाट उत्पादन लिन नसकिरहेको अवस्था छ। गाईभैंसीको मलमूत्र व्यवस्थापन नगर्दा त्यत्तिकै खेर गइरहेको थियो, भकारो सुधार गरेपछि मलमूत्र सही ठाउँमा सदुपयोग गरिन थालेको अगुवा कृषक शेरबहादुर सोतीले बताए। “खाल्डाखुल्डी परेका गोठमा पशु चौपायाहरुलाई बस्नसमेत अप्ठ्यारो अवस्था थियो, भकारो सुधार गरेपछि पशुलाई दानापानी, घाँसपात दिन सजिलो परेको छ”, सोतीले भने। मूत्र बहने नाली र गाईभैँसीलाई पानी तथा घाँस हाल्ने ठाउँ निर्माण गरिएको उनको भनाइ छ।

यसैगरी बङ्गुरपालनतर्फ १५० वटा बङ्गुरको खोर सुधार भएको छ। बङ्गुरपालन व्यवसायमा कृषकलाई आकर्षित गराउन कृषकको ३० र गाउँपालिकाको ७० प्रतिशत गरी रु दश हजार ८६० का दरले बङ्गुर खोर सुधार गरिएको हो। गाउँपालिका–१ बाकामलाङमा तीस, ३ झिरुवासमा पचास, ४ मित्यालमा ४५ र ६ अर्चलेमा २५ वटा बङ्गुरका खोर सुधार गरिएको पशु शाखाले जनाएको छ। त्यस्तै गाउँपालिकाले व्यावयायिक फार्म सुधार कार्यक्रमअन्तर्गत सात वटा फार्मलाई प्रोत्साहनस्वरुप ८० हजार अनुदान प्रदान गरेको छ। रासस

कमेन्ट लोड गर्नुस